Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अहिले बाढी प्रभावितको घाउमा मलम लगाऔँ, महाधिवेशन दसैँपछि गर्दा हुन्छ: नैनसिंह महर

अहिले बाढी प्रभावितको घाउमा मलम लगाऔँ, महाधिवेशन दसैँपछि गर्दा हुन्छ: नैनसिंह महर

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशन केही समय सारेर रसुवा बाढीबाट उत्पन्न देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

    भदौ १० मा गएको बाढी,पहिरो प्रभावित क्षेत्र गएर काठमाडौँ फर्किएपछि कांग्रेस सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा नेता महरले अहिलेको प्राथमिकता महाधिवेशनभन्दा विपद्मा परेको जनतको उद्धार, राहत र पुनर्स्थापना भएको बताए।

    images

    वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५ औँ महाधिवेशन केही समयपछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने उनको भनाइ छ।

    ‘आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ,’ उनले भने, ‘यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ।’

    रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको भन्दै विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने उनले बताए। महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने उनको प्रस्ताव छ।

    यसले एकातर्फ विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनको भनाइ छ।

    ‘महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो। त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ,’महरले भने।

    महरले कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको स्पष्ट पारे। ‘आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छस प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ,’ उनले भने, ‘देश संकटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ।’

    विपत्तिमा जनताको साथ, पार्टीभित्र एकता र महाधिवेशन नै अहिलेको कांग्रेसको प्राथमिकता हुनुपर्ने महरले बताए। उनले महाधिवेशनको मिति केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने राजनीतिक अवसरका रूपमा लिनुपर्ने धारणा उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार