काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका कम्प्युटर अपरेटर उमेश गजुरेलले गत बुधबार विराटनगरको महेन्द्र चोकमा दिउँसो युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै एउटा भिडियो पोस्ट गरे । उनले अहिले भने त्यो भिडियो हटाएका छन् । तर, सामाजिक सञ्जालमा भाइरलजस्तै बनेको छ।
गजुरेल आफैँ पनि मोटरसाइकल चलाइरहेका थिए । उनले आफ्नो मोटरसाइकलमै जडान गरेको क्यामेराबाट यो दृश्य कैद गरेका हुन् । गजुरेलले दुई युवा सवार मोटरसाइकललाई केही समयदेखि पछ्याइरहेजस्तो देखिन्छ । उक्त मोटरसाइकलमा विराटनगर महानगरपालिका–४ का महेश मण्डल र अर्का विराटनगरमै बसोबास गर्ने बाराका अखिलेशकुमार प्रसाद थिए।
भिडियोमा विराटनगरको महेन्द्रचोक क्षेत्रको व्यस्त सडक देखिन्छ । सडकको जेब्रा क्रसिङ नजिकै विद्यालय पोसाकमा दुई जना छात्राहरू बाटो काट्ने तरखरमा देखिन्छन् । त्यही क्रममा मोटरसाइकल ती छात्राहरूको नजिक पुग्दा, पछाडि बस्ने युवाले आफ्नो बायाँ हात छात्राहरूतर्फ लगेको देखिन्छ।
भिडियोमा देखिएअनुसार ती युवाले हातले केही इसारा गर्छन् । भिडियो खिच्नेको दाबीअनुसार यो ती युवतीलाई उनीहरूले ‘छोएको’ देखिन्छ । तर, पछि छात्राहरूले नै दिएको बयानअनुसार उनीहरूले ‘जेब्रा क्रसिङबाट बाटो काट्न’ भनी हातले बाटो देखाएको बताएका छन् । भिडियोमा ती छात्राहरू डराएको वा भागेको देखिँदैन । कुनै भनाभन भएको पनि देखिँदैन । बरु उनीहरू आफ्नो बाटो लागिरहेको देखिन्छ । मोटरसाइकल पनि आफ्नै गतिमा अगाडि बढ्छ । त्यही भिडियोलाई गजुरेलले सामाजिक सञ्जालमा ‘दिउँसै युवतीमाथि दुर्व्यवहार’ भन्ने आशयको क्याप्सन राख्छन् र भिडियो भाइरल हुन्छ । सामाजिक सञ्जालमा फैलिँदा यो भिडियोलाई स्लो–मोसन बनाएर र हात फैलाएको भागलाई मात्र जुम गरेर देखाइएको थियो।
तर, प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको यही भिडियोका आधारमा ती दुई जना युवालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीको यो अनुसन्धान शैली र ‘अतिरिक्त सक्रियता’माथि प्रश्न उठाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । पक्राउ परेका युवाहरूले जेब्रा क्रसिङबाट बाटो काट्न आग्रह गरेको विषयलाई ‘छोएको’ वा ‘दुर्व्यवहार गरेको’ भन्दै सामाजिक सञ्जालमा अतिरञ्जित गरिएको भिडियोलाई भेरिफाइ नगरी प्रहरीले उनीहरूलाई हिरासतमा राख्नु अन्याय भएको धेरैको तर्क छ।
बिनाकारण मुद्दाको तयारी
घटनाका भनिएका ‘पीडित’ किशोरीहरू आफैँले आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको र ती युवा निर्दोष रहेको स्पष्ट पारेका छन् । प्रहरीले न त किशोरीहरूसँग सोधपुछ गर्यो, न कुनै जाहेरी पर्यो, केवल फेसबुक र टिकटकको ‘ट्रायल’ का आधारमा युवाहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भएको छ।
प्रहरी कार्यालयमा पुगेर ती किशोरीहरूले भिडियो खिच्ने र फैलाउने व्यक्तिहरूप्रति नै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले भनेका छन्, ‘हामी जेब्रा क्रसिङभन्दा अलि परबाट बाटो काट्दै थियौँ, दाइहरूले जेब्रा क्रसिङबाट हिँड्नु भनेर हातले देखाउनुभएको मात्र हो । हामी हाँसेरै आफ्नो बाटो लागेका थियौँ।’
किशोरीहरूले भिडियोलाई ‘जुम’ गरेर वा ‘क्रप’ गरेर नियतवश गलत देखाइएको दाबी गरेका छन् । उनीहरू भन्छन्, ‘नियत खराब भएको भए त हामी त्यहीँ कराउँथ्यौँ होला, वा प्रहरीलाई भन्थ्यौँ होला । तर त्यहाँ केही भएकै थिएन । अहिले विना सित्तैमा हाम्रो फोटो र ती दाइहरूको फोटो भाइरल बनाएर हाम्रो बेइज्जत गरियो ।’ किशोरीहरूका अनुसार उनीहरूले प्रहरीलाई समेत ती युवाहरू निर्दोष रहेको बयान दिएका छन्, तर प्रहरीले उनीहरूलाई छाड्न मानेको छैन।
पक्राउ परेका महेशकुमार मण्डलका भाइ नितेश मण्डलले प्रहरीले नियतवश आफ्ना दाजुलाई फसाएको बताएका छन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनीहरू आफैँ स्पष्टीकरण दिन र भिडियो हटाउन माग गर्दै उनीहरू आफैं कार्यालय पुगेका थिए । ‘हामी आफैँ भिडियोबारे कुरा गर्न प्रहरीकहाँ गएका हौँ । सुरुमा प्रहरीले बयान लिएर कागज बनाएर छोडिदिन्छौँ भन्यो । तर पछि एसपी साब आएपछि कुरो फेरियो र उनीहरूलाई थुनामा राखियो,’ नितेशले भने । नितेशले किशोरीहरूले समेत ‘केही भएको छैन’ भनिरहँदा पनि प्रहरीले मुद्दा चलाउनु दुःखद भएको बताए । ‘भिडियोमा प्रस्ट छ कि उहाँहरूले जेब्रा क्रसिङ देखाउनुभएको हो, तर प्रहरीले हचुवामा मुद्दा चलायो,’ नितेशले थपे।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले भने कलेज पढ्ने युवतीहरूसँग जोडिएर भिडियो सार्वजनिक भएपछि प्रहरी अघि बढेको बताए । उनले सडकमा असम्बन्धित व्यक्तिले शंकास्पद व्यवहार गरेको बताए । प्रहरीसँग ती युवतीहरूले पनि दुर्व्यवहार नभएको र आफूहरूमाथि ‘टच’ नभएको बताएको मिश्रले बताए ।‘अलिक अप्ठ्यारो चाहिँ लाग्यो भनेका छन्,’ मिश्रले भने, ‘नछोएको र दुर्व्यवहार नै चाहिँ नभएको बताएका छन्।’
पीडित भनिएकाहरूले हामी पीडित होइनौँ भनिरहेको अवस्थामा, कुनै जाहेरीबिना नै सामाजिक सञ्जालको दबाबमा परेर निर्दोष युवालाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास भएको नितेशको भनाइ छ । घटनास्थलको प्रत्यक्षदर्शी कृतिका तिम्सिनाले फेसबुकमा स्टाटस लेख्दै घटनाको वास्तविकता नबुझी प्रहरीले दुई जनालाई पक्राउ गरेको बताएकी छिन्।
साथै उनले घटनाको वास्तविक तथ्य, दुवै पक्षको भनाइ र उपलब्ध प्रमाणको उचित परीक्षण नगरी समाचार बनाएर गलत रूपमा प्रस्तुत गरेको प्रति पनि आपत्ती जनाएकी छन् । तिम्सिनाले लेखेकी छन्, ‘घटनाको वास्तविक तथ्य, दुवै पक्षको भनाइ र उपलब्ध प्रमाणको उचित परीक्षण नगरी समाचारलाई गलत रूपमा प्रस्तुत गर्नुको जिम्मेवारी कसले लिने ? हामीमाथि सम्बन्धित व्यक्तिहरूबाट कुनै अभद्र व्यवहार भएको छैन,’ उहाँहरूले आफूलाई आफ्नो बाटो हिँड्न अनुरोध गर्नुभयो र हामी पनि आफ्नो बाटो लाग्यौँ । यति मात्र भएको सामान्य घटनालाई आधार बनाई, सत्यतथ्य नबुझी र सम्बन्धित पक्षसँग आवश्यक जानकारी नलिई, एक पक्षलाई पीडित र अर्को पक्षलाई अभद्र व्यवहार गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्नु कत्तिको उचित र जिम्मेवार पत्रकारिता हो?’



