Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विद्यार्थीको सिकाइ स्तर अभिवृद्धिमा योगदान पुर्‍याउने ६ शिक्षक सम्मानित

विद्यार्थीको सिकाइ स्तर अभिवृद्धिमा योगदान पुर्‍याउने ६ शिक्षक सम्मानित

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । विद्यार्थीको सिकाइ स्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै छ जना शिक्षक सम्मानित भएका छन्।

    पीपी प्रसाई फाउण्डेसनले प्रतिस्पर्धामार्फत छनोट भएका छ शिक्षकलाई सम्मान गरेको हो।

    images

    कोशी प्रदेशबाट खगेन्द्र निरौला (जनता माध्यमिक विद्यालय,इलाम) , बागमती प्रदेशबाट युवराज भट्टराई (जनक माध्यमिक विद्यालय, काभ्रे), गण्डकी प्रदेशबाट मनोजविक्रम विष्ट (जनक नमूना माध्यमिक विद्यालय,नवलपरासी) सम्मानित भएका छन्।

    त्यस्तै लुम्बिनी प्रदेशबाट नरेशकुमार चौधरी (युवक माध्यमिक विद्यालय,बर्दिया) ,कर्णाली प्रदेशबाट लोकेन्द्र चन्द (त्रिपुरेश्वर माध्यमिक विद्यालय,सुर्खेत ) र सुदूरपश्चिम प्रदेशबाट अन्जुकुमारी उपाध्याय (सिद्धनाथ माध्यमिक विद्यालय,कंचनपुर) पुरस्कृत भएका छन्।

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवले विजेता शिक्षकहलाई जनही पचास हजार रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरे। पुरस्कारका लागि देशभरिबाट आवेदन माग गरिएको थियो।

    शिक्षकको शिक्षण शैली, नवीनतम अभ्यास,विद्यार्थीको अतिरिक्त प्रतिभा तथा सीप सिकाइमा गरेको प्रोत्साहन, कमजोर सिकाइस्तर भएका विद्यार्थीको सिकाइका लागि गरिएको अभ्यास, अभिभावक र समुदायसँगको सबन्ध लगायतका सूचकका आधारमा पुरस्कारका लागि शिक्षक छनोट गरिएको आयोजकले जनाएका छन्।

    ज्ञानोदय माध्यमिक विद्यालय,काठमाडौंका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा संयोजक रहेको छनोट समितिले पहिलो चरणमा आवेदन मूल्यांकन र दोस्रो चरणमा अन्तर्वाता गरेर शिक्षक छनोटका लागि सिफारिस गर्ने गरेको छ। यस वर्ष मधेस प्रदेशबाट उल्लेख्य  आवेदन नपरेकाले यो प्रदेशबाट शिक्षक छनोट स्थगित गरिएको पी.पी. प्रसाई फाउन्डेशनले जनाएको छ।

    शिक्षकहरुलाई सम्मान र हौसला प्रदान गर्न पी.पी. फाउन्डेशनले तेह्र वर्षदेखि सार्वजनिक विद्यालयका शिक्षकलाई पुरस्कृत गर्दै आएको छ । स्वर्गीय पर्यटन व्यवसायी तथा शिक्षाप्रेमी प्रजापति प्रसाईको सम्मानमा १५ वर्षअघि फाउन्डेशन स्थापना भएको हो।

    यसै गरी यो वर्ष बैतडीको पंचेश्वर गाउँपालिकास्थित नागार्जुन आधारभूत विद्यालयले एक लाख रुपैयाँको पीपी प्रसाई विद्यालय प्रोत्साहन पुरस्कार पाएको छ। पूर्वराष्ट्रपति यादवले विद्यालयका प्रधानाध्यापक सुरेश राम सार्कीलाई यो पुरस्कार प्रदान गरे। फाउन्डेसनका अनुसार सुधारका लागि अथक प्रयत्न  गरिरहेका विद्यालयलाई प्राथमिकतामा राख्ने गरिएको छ। प्रतिस्पर्धाभन्दा पनि स्थलगत अवलोकन र विभिन्न संस्था वा व्यक्तिका सिफारिसका आधारमा छनोट समितिले यो पुरस्कारका लागि सिफारिस गर्ने गर्छ।

    यो विद्यालय भएको ठाउँमा २ वर्षअघि मात्र विद्युत पुगेको प्रधानाध्यापक सुरेश राम सार्कीले बताएका छन्। कुनै समयमा चिउरीको बोटमुनि पढाइ हुने यो विद्यालयले अहिले शैक्षिक र भौतिक पक्षमा उल्लेख्य फड्को मारेको छ।

    प्रअ सार्कीका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा हाल १६४ जना विद्यार्थी छन्। यीमध्ये १३९ जना दलित बालबालिका छन्। पछिल्लो तीनवर्षदेखि यो विद्यालय पालिकाबाट सम्मानित हुँदै आएको छ।

    यसैगरी थामसेर्कु ट्रेकिङका संस्थापक तथा अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा पीपी प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। पाँच दशकदेखि नेपालको पर्यटन उद्योगमा योगदान पुर्‍याउँदै आएका शेर्पा विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने पहिलो नेपाली हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार