काठमाडौँ । भोटेकोसी बाढीका कारण नियमित सेवन गरिरहेको औषधी छुटेका ज्येष्ठ नागरिकलाई नुवाकोटको विदुर नगरपालिका-३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिइएको छ।
शनिबार सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्।
आयोजकका अनुसार १०१ जना ज्येष्ठ नागरिकले शिविरबाट लाभ लिएका हुन्। जसमा ४८ महिला र ५३ पुरुष थिए।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका औषधी बगाएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्शसहित औषधी उपलब्ध गराइएको हो।
शिविरमा ज्येष्ठ नागरिकका रोग, अर्थोपेडिक्स, मुटु रोग, दन्त तथा अर्थोपेडिकसम्बन्धी सेवा प्रदान गरिएको थियो।
बाढीपछि मानसिक तनावमा रहेका परिवारलाई लक्ष्य गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श समेत दिइएको आयोजकले जनाएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई समेत आवश्यक केही महत्त्वपूर्ण औषधि उपलब्ध गराइएको थियो।
शिविर विभिन्न सामाजिक संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेका थिए।



