Oct 29 2026 | २०८३ कार्तिक १३ गते

पहिरोमा परेर चीनमा दुई जनाको मृत्यु, १० जना बेपत्ता

पहिरोमा परेर चीनमा दुई जनाको मृत्यु, १० जना बेपत्ता

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । साउडेल समुद्री आँधीका कारण लगातार परेको भारी वर्षापछि चीनको पूर्वी क्षेत्रमा पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस घटनामा अरू १० जना अझै बेपत्ता रहेको बताइएको छ।

    जियाङ्सी प्रान्तको जियान सहरअन्तर्गत सुइछुआन काउन्टीको एउटा गाउँमा शनिबार बिहान पहिरो गएको थियो। पहिरोले करिब एक दर्जन घरमा क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले बताएका छन्।

    images

    पहिरो गएको खबर पाए लगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो । उद्धारका क्रममा एक जनालाई जीवितै निकालिए पनि उनको मृत्यु भएको थियो । अन्य दुई जनालाई भने सकुशल उद्धार गरिएको थियो।

    आइतबार बिहान उद्धारकर्मीहरूले बेपत्ता व्यक्तिमध्ये थप एक जनालाई भत्किएका घरको भग्नावशेषमा मृत अवस्थामा फेला पारेका छन् । अझै १० जना सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    टाइफुन साउडेलका कारण दक्षिण–मध्य चीनको हुनान प्रान्तमा पनि दुई जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भारी वर्षासँगै विभिन्न स्थानमा पहिरो तथा अन्य प्राकृतिक विपत्ति निम्तिएको बताइएको छ।

    साउडेलले अगस्ट २८ मा झेजियाङ प्रान्तमा दुई पटक पहिरो खसाएको थियो । त्यसपछि बिहीबार फुजियान प्रान्तमा उष्णकटिबन्धीय आँधीका रूपमा तेस्रो पटक जमिनमा प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

    फुजियानमा पनि लगातारको वर्षाका कारण ठुलो क्षति पुगेको छ । पुतियान सहरको हुआटिङ टाउनमा मात्रै १०० भन्दा बढी घर भत्किएको र बिहीबार एउटा तटबन्ध भत्किएपछि गाउँहरूमा पानी पसेको अधिकारीहरूले बताएका छन्।

    बाढी र पहिरोको जोखिम बढेपछि फुजियानमा शुक्रबार रातिसम्म करिब ६ लाख मानिसलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो । सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेका दृश्यमा सडकहरू खोलाजस्तै बनेको र उद्धारकर्मीहरूले रबरका डुङ्गा प्रयोग गरेर उद्धार गरिरहेको देखाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार