Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कांग्रेस विवाद : गगन र पूर्णबहादुरबिच भेटवार्ता, शेखरसँग पनि छलफल हुँदै

कांग्रेस विवाद : गगन र पूर्णबहादुरबिच भेटवार्ता, शेखरसँग पनि छलफल हुँदै

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिवार साँझ भेटवार्ता भएको छ।

    दुई नेताबिच ‘वान टु वान’ भेट भएको दुवै पक्षले पुष्टि गरे । ‘हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापतिबिच भेटघाट भएको हो । सभापतिज्यूले निवर्तमान कार्यवाहक सभापतिले राखेका माग पूरा गर्न सहमति जनाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब सहमति हुने सम्भावना बढ्यो।’

    images

    खड्काले १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक नगरेको निहुँमा १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने बताउँदै आएका छन् । सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता आफ्नो जिम्मेवारी रहेको उनको भनाइ रहँदै आएको छ। साथै उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने बताइरहेका छन्।

    त्यो विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतहरूले बताएका छन् । त्यस्तै आइतबार बिहान ११ बजे  सभापति थापा र नेता डा. शेखर कोइरालाबिच पनि भेट हुँदै छ । भेटमा नेता डा. कोइरालाले राखेका एजेन्डाबारे कुरा हुने बताइएको छ।

    डा. कोइरालाले पार्टीमा एकता कायम राख्नका लागि भन्दै १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४ औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने, १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव राखेका छन्। ती प्रस्तावमा खड्काको पनि सहमति रहेको नेताहरू बताउँछन् ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति आफैँले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भेटघाट गरिरहेको बताए । सहमतिको सम्भावना बनेको बताउँदै प्रवक्ता चालिसेले को–को सँग सभापतिले भेटेको भन्नेबारे दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ हुने बताए।

    ‘विवाद समाधानका लागि सभापतिज्यूले केही नेताहरूलाई भेटिसक्नुभयो । केहीसँग भेट्दै हुनुहुन्छ,’ प्रवक्ता चालिसेले भने, ' भेटमा के के कुरा भयो ? भन्ने ब्रिफिङ आज कार्यसम्पादन समिति बैठक छ त्यहाँ हुन्छ।’

    उनले सहमतिको सम्भावना प्रबल रहेको पनि बताए। सहमति भएमा भदौ २४ गते गर्ने भनिएको पार्टीको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन केही समय सर्न सक्ने र त्यो निर्णय कार्यसम्पादन समिति बैठकबाट हुने सक्ने सङ्केत प्रवक्ता चालिसेले गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार