काठमाडौँ । अभिनेत्री रजनी केसीले बाढीपीडितहरूका लागि नुवाकोटको विदुर नगरपालिकास्थित टारमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्।
काठमाडौँबाट डाक्टर सुदीप पण्डितसहितको टोली लिएर आफ्नो जन्मजिल्ला पुगेकी उनले बाढीपीडितको निःशुल्क स्वास्थ्य जाँच्नुका साथै आवश्यक औषधि वितरण गरेकी हुन्।
फार्मेसिस्टसमेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितहरूको उद्धार, राहत सङ्कलन तथा वितरणमा निरन्तर खटिएकी छन्। पिपुल डेन्टल कलेज एन्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजित शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताएकी छन्।
स्वास्थ्य शिविरका साथै पीडितहरूलाई खाद्यान्न सामग्री, कपडा, सरसफाइका सामान तथा बालबालिकाहरूका लागि कापी, पेन्सिल, किताब, ड्रोइङ बुक र मनोवैज्ञानिक उपचारस्वरूप खेलौनाहरू वितरण गरिएको उनले जानकारी दिएकी छन्।
नुवाकोटको टुप्चेकी स्थायी बासिन्दा रजनी गत भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको उद्धार र राहतका लागि निरन्तर खटिएकी थिइन्। बाढीका कारण सोले बजारबाट आफ्नी मावली हजुरआमा, माइजू, भाइ, बुहारीलगायत थुप्रै आफन्तलाई गुमाएकी उनको प्रयासबाट केही पीडितहरूको जीवितै उद्धार गर्न सफलता मिलेको थियो।
आफन्तहरू गुमाउनुको पीडाका बाबजुद उद्धार र राहतमा खटिएकी उनले स्थानीय आशिष रिजाललगायतका सहयोगीहरूको साथले बाढीबाट अत्यधिक प्रभावित क्षेत्रमा शिविर सञ्चालन गर्न सम्भव भएको बताएकी छन्। बाढीबाट पीडित थुप्रै नागरिकले अझैसम्म अत्यावश्यक राहत सामग्री र औषधि उपचार नपाएको देख्दा निकै दुःख लागेको उनले उल्लेख गरेकी छन्।
'यो कुनै एउटा ठाउँको मात्रै पीडा होइन,' आफ्नो जन्मभूमिमा हजारौँ आफन्तले ज्यान गुमाउनुका साथै घरपरिवारविहीन भएको देख्दा हृदय छियाछिया भएको बताउँदै रजनीले भनिन्, 'यसमा सारा नेपाली र सारा विश्व दुःखी छ।' सबैलाई हृदय खोलेर सहयोग गर्नसमेत उनले अपिल गरेकी छन्।
'परदेशी' जस्तो सफल चलचित्रकी नायिका रजनीको अभिनय रहेको नयाँ चलचित्र 'छ माया छप्पकै २' आउँदो दसैँमा प्रदर्शन हुँदैछ। अभिनयका साथै उनी फार्मेसिस्ट, योग–ध्यान प्रशिक्षक, व्यवसायी तथा समाजसेवीका रूपमा समेत सक्रिय छिन्।



