। ‘अब चार दिनपछि घर आउँछु, यहाँको काम सकिन लाग्यो।’ भदौ ९ गते राति श्रीमतीसँग फोनमा कुरा गर्दा २८ वर्षीय अब्दुल खानको स्वरमा घर फर्किने खुसी झल्किएको थियो।
तीन महिनादेखिको काम सकेर परिवारको न्यानो काखमा फर्किने दिन गन्दै बसेका उनका लागि यो नै अन्तिम संवाद बन्ला भन्ने कसैले सोचेको थिएन।
भोलिपल्ट बिहानै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले धेरैको जीवन अस्तव्यस्त बनायो। त्यही बाढीसँगै नुवाकोटस्थित ११६ पावर हाउसमा जेसीबी चलाउँदै आएका रुपन्देहीको मायादेवी गाउँपालिका–८, मझखोलका अब्दुल पनि बेपत्ता भए।
बाढी आएको नौ दिन बितिसक्दा पनि उनको अवस्था अझै अज्ञात छ। तर, परिवारको मनले भने उनी नफर्किने कुरा मान्न तयार छैन; आशा अझै जीवितै छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अभिलेखअनुसार, अब्दुलले पावर हाउसमा ‘लु १ ख ३६४२’ नम्बरको जेसीबी चलाउँथे। वर्षौंदेखि भैरहवामा जेसीबी र क्रेन चलाउँदै आएका उनी वीरगन्जका एक ठेकेदारमार्फत तीन महिनाको काम लिएर नुवाकोट पुगेका थिए।
घरमा श्रीमती, पाँच वर्षीय छोरा, तीन वर्षीया छोरी र वृद्ध बुवा–आमा छन्। अब्दुलकै पसिनाको कमाइले सिंगो परिवारको गुजारा चल्थ्यो। घरको एक्लो खम्बा नै बाढीमा हराएपछि परिवारमा अहिले रुवाबासी चलेको छ।
अब्दुल बेपत्ता भएको खबर सुन्नासाथ उनका जेठान इस्लाम खान खोजी गर्दै नुवाकोट पुगे। नुवाकोट मात्र होइन, उनी काठमाडौं र भरतपुरसम्मका अस्पताल तथा सम्भावित सबै स्थानमा पुगे, तर कतै केही अत्तोपत्तो लागेन।
‘ज्वाइँको खोजीमा धेरै ठाउँ पुग्यौँ, तर अहिलेसम्म केही खबर पाइएको छैन,’ रातोपाटीसँग कुरा गर्दै इस्लामले भने, ‘यति दिनसम्म पनि खबर नआउँदा परिवारमा ठूलो तनाव छ।’
यता घरमा श्रीमती अझै श्रीमान् फर्किने प्रतीक्षामा छिन्। पाँच वर्षीय छोरा र तीन वर्षीया छोरीलाई बुवा बाढीमा हराएको अत्तोपत्तो छैन। उनीहरूलाई लाग्छ— बुवा काममै हुनुहुन्छ। अब बच्चाहरूका लागि बुवा फर्किने दिन अनिश्चित बनेको इस्लाम बताउँछन्।
बाढीमा बेपत्ता भएका दुई जनालाई जीवितै उद्धार गरिएको समाचारले परिवारमा झिनो आशा पलाएको छ। ‘त्यो समाचारले कतै हाम्रा ज्वाइँ पनि जीवितै भेटिनुहुन्छ कि भन्ने आशा जगाएको छ,’ इस्लाम भन्छन्। अहिले कसैको फोन बज्दा वा बाढीको कुनै नयाँ सूचना आउँदा परिवारको मुटु ढुकढुक हुन्छ; कतै अब्दुलकै खबर पो आयो कि भनेर।
‘अरू विकल्प पनि त रहेन, अब भगवान् भरोसामा बसेका छौँ। आशा त सधैँ रहने रहेछ,’ इस्लामले भावुक हुँदै भने। साँच्चै, विपत्तिको यो अँध्यारोमा पनि अब्दुल फर्किने आशामा यो परिवारले अझै ढोका खुला राखेको छ, बाटो हेर्न छाडेको छैन।



