काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताएका छन्। शुक्रबार रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलङ्कित र निर्विवाद रहनुपर्नेमा उनले जोड दिएका छन्। विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाएका छन्। राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गर्दै उनले अहिलेको मुख्य प्राथमिकता राहत र पुनःस्थापना नै हुनुपर्ने बताएका छन्।
'नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो,' ओलीले भनेका छन्, 'तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ।' सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुने उनले उल्लेख गरेका छन्। 'अहिलेको समय राहत र उद्धारमा केन्द्रित हुने बेला हो,' उनले भनेका छन्, 'यससँगै भत्किएका संरचनाको पुनर्निर्माण पनि आवश्यक छ।' प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन्।
अध्यक्ष ओलीले राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समानान्तर रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्। रसुवाका बाढी तथा पहिरो प्रभावितका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उनले प्राप्त राहत सामग्री हस्तान्तरण गरेका थिए।
सोही कार्यक्रममा अध्यक्ष ओलीले 'ग्रीन आर्मी' नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि गम्भीर प्रश्न उठाएका छन्। उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न उनले सरकारसँग माग गरेका छन्। सो समूहले विक्रम संवत् २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीका समयमा राहत पुर्याएको भनी गरेको दाबीको उनले खण्डन गरेका छन्। सेनाको 'चुस्ता' जस्तै देखिने पोशाक र कतिपयमा दर्जायानी चिह्न समेत प्रयोग गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसको कानुनी आधार र खर्चबारे जिज्ञासा राखेका छन्। ७० हजारको सङ्ख्यामा रहेको दाबी गरिएको यस समूहको बुट, चुस्ता र परिचालन खर्चको स्रोत के हो भन्दै उनले प्रश्न गरेका छन्।
आफू प्रधानमन्त्री भएको समयमा उक्त संस्था दर्ता भएको भनी आएका चर्चाप्रति टिप्पणी गर्दै उनले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई सम्बन्धित प्रशासनिक निकायको भएको स्पष्ट पारेका छन्। यति ठूलो सङ्ख्याको जनशक्ति कसरी गोप्य रहन सफल भयो र एक्कासि उद्धारका नाममा प्रदर्शन हुनुको प्रयोजन के हो भन्दै उनले प्रश्न गरेका छन्। रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले यस सम्बन्धमा नेपाली जनतालाई स्पष्ट जानकारी दिनुपर्नेमा उनले जोड दिएका छन्।
'यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन,' ओलीले भनेका छन्, 'गत वर्ष रसुवामा बाढी आउँदा वा मुलुकमा अन्य राजनीतिक घटनाक्रम हुँदा पनि यो युनिफर्ममा कुनै जनशक्ति देखिएको थिएन।'
सेनाले एनसीसीका विद्यार्थीहरूलाई आवधिक तालिम दिने गरे पनि यो समूह कसरी र कुन प्रक्रियाबाट तालिम प्राप्त भयो भन्दै उनले चासो व्यक्त गरेका छन्। 'यसको खर्च कसले व्यहोर्यो, मेरो नाम किन जोडिएको छ,' उनले भनेका छन्, 'यसमा केही शङ्कास्पद कुरा लुकेको देखिन्छ।' दर्ता गर्न प्रधानमन्त्रीको आदेश नचाहिने र यसका लागि छुट्टै ऐन तथा कार्यालयहरू रहेको उनले स्पष्ट पारेका छन्।
उनले नेपाली सेना र नेपाल प्रहरीले उद्धार तथा राहतका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गरेका छन्। 'ग्रीन आर्मी' जस्ता अपारदर्शी समूहको परिचालनले सुरक्षा र कानुनी मर्यादामा चुनौती थप्न सक्ने उनले सङ्केत गरेका छन्।
यसैबिच अध्यक्ष ओलीले बाढीपहिरो पीडितहरूलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताएका छन्। एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताहरूको परिचालनमार्फत राहत सङ्कलन तथा वितरण कार्य गरिरहेको जानकारी उनले दिएका छन्। पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए तापनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको उनले बताएका छन्। राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक भएको र उद्धार एवं राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने उनले स्पष्ट पारेका छन्।
'हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ,' ओलीले भनेका छन्, 'तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएका छौँ।' हालको विषम परिस्थितिमा उद्धार र राहत वितरण नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले पीडितको आवश्यकतालाई सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताएका छन्।
त्यस्तै अध्यक्ष ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गरेका छन्। अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा उनले जोड दिएका छन्। बाढीपहिरुका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
'यस दुःखद् घडीमा हजारौँको सङ्ख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ,' उनले भनेका छन्, 'यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्याउनेतर्फ लाग्नुपर्छ।' कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेको उनले टिप्पणी गरेका छन्। 'मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो,' उनले थपेका छन्, 'कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन।' सम्पूर्ण ध्यान र सामर्थ्य राहत र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखीभन्दा सेवामुखी हुन उनले सबैलाई आग्रह गरेका छन्।



