काठमाडौँ । त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरू सुरुमा भक्कानिएका छन् । शुक्रबार नेपाली सेना र प्रहरीले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट कबिर महर्जन र सञ्जय शाहलाई जीवितै उद्धार गर्न सफल भएको हो । उद्धारमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालले सुरुमा उनीहरू नबोलेको बताए।
उनले भने, ‘उद्धार भएकाहरू सुरुमा बोलेनन् एक्कासि रोए ।’ साथै उनले सबै निकायको राम्रो कोअर्डिनेसनबाट उद्धार गर्न सफल भएको बताए । बरालले एनइएको डाटाअनुसार सुरुङको होल एरियामा ४० देखि ५० जना रहेको आफूहरूलाई जानकारी भएको बताए।
‘टनेल खोल्दै जाँदा उहाँहरू बस्नुभएको ठाउँभन्दा ५०–६० मिटर यतै उहाँहरूले हाम्रो आवाज र लाइभ देख्नुभयो होला। र हामी छौ भन्नुभयो’, त्यसपछि आफूहरूले नआत्तिन भनेको डेढ घण्टापछि उद्धार गर्न सफल भएको बताए । उद्धारका क्रममा आफूहरू सफल भएको र नेपालीहरूले नै गर्न खोज्दा सक्ने रहेछन् भन्ने प्रमाणित भएको बरालको भनाइ छ। बरालका अनुसार अझै पनि सुरुङमा मानिसहरू फसेका हुन सक्नेछन्।



