Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज र प्रधानमन्त्री शाहबिच टेलिफोन वार्ता

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज र प्रधानमन्त्री शाहबिच टेलिफोन वार्ता

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढी तथा सुनामीजस्तै विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यकता परेका क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको बताएका हुन्।

    images

    अल्बानिजले मानवीय सहायता सामग्री, उपकरण र विशेष क्षमताका प्राविधिक टोलीमार्फत सहयोग जारी राखिएको जनाएका छन्। बाढीका कारण भएको जनधनको क्षति अत्यन्तै हृदयविदारक भएको उनले उल्लेख गरेका छन्।

    उनले नेपालमा अझै बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकको खोजीका लागि हरसम्भव प्रयास गरिने बताएका छन्। बेपत्ता अस्ट्रेलियालीका परिवार तथा आफन्तजनप्रति उनले सहानुभूति प्रकट गरेका छन्।

    प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरूले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरेका छन्।

    नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको उनले प्रशंसा गरेका छन्। खासगरी अस्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री र आर्थिक सहयोग पठाएकोमा उनले आभार प्रकट गरेका छन्।

    प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताएका छन्।

    संवादका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार