काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाबिच रसुवा बाढीपछिको उद्धारको विषयलाई लिएर दोहोरी चलेको छ।
शाहीले आफू फोटो खिचाउन हेलिकप्टर चढेर नजाने बताएपछि दर्शनाले त्यसको स्पष्टीकरण दिँदै जवाफ फर्काएकी हुन्।
अहिले वादविवाद गर्ने वा कुरा बङ्ग्याउने समय नभएको उल्लेख गर्दै सांसद दर्शनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ब्रिफिङमा भएका कुरा सार्वजनिक गरेकी छन्। उनका अनुसार ब्रिफिङका क्रममा शाहीले सुरुङमा धेरै मानिस फसेका र भागेर आएका एक भाइले यसबारे जानकारी दिएको बताएका थिए।
यो विषय सुनेलगत्तै गृहमन्त्रीले पहिलो प्राथमिकता उद्धार नै भएको भन्दै शाही र ती भाइलाई भोलिपल्टको पहिलो हेलिकप्टर उडानबाट उद्धार टोलीसँगै पठाउने प्रस्ताव गरेका थिए। शाहीकै सहमतिमा दुवै जना जाने कुरा तय भएको र आफूहरू त्यसको प्रत्यक्षदर्शी रहेको दर्शनाले दाबी गरेकी छन्। पावर हाउस र सुरुङमा अझै धेरै मानिस बेपत्ता रहेकाले उद्धार कार्यलाई अझ व्यापक बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।
यसअघि राप्रपा नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्रीले आफूलाई हेलिकप्टर चढेर रसुवा जान भनेको दाबी गरेका थिए। आफू सुरुङ उद्धारको विज्ञ नभएकाले बाहिर उभिएर फोटो खिचाउन र प्रचारका लागि नजाने जवाफ गृहमन्त्रीलाई दिएको शाहीको भनाइ थियो।
शाहीले आफ्नो सट्टामा प्राविधिक रूपमा अनुगमन गर्न सक्ने, दक्ष र अनुभवी विशेष उद्धार टोली पठाउन गृहमन्त्रीसँग माग गरेका थिए। अहिले फोटो खिचाउने मान्छेभन्दा पनि नागरिकको जीवन बचाउन सक्ने क्षमतावान् टोली चाहिएको उनले बताएका थिए।
सुरुङभित्र अहिलेसम्म जमेको हिलो नहटाइएको भन्दै शाहीले आफूलाई उडाउनुको सट्टा हिलो फाल्ने आवश्यक मेसिन र उपकरण तत्काल उपलब्ध गराउन गृहमन्त्रीसमक्ष आग्रह गरेका थिए।



