Oct 29 2026 | २०८३ कार्तिक १३ गते

लेदोले थुनिएको सुरुङमा उद्धार गर्ने प्रविधि विश्वमै छैन ? दृष्टान्त भन्छ–प्रधानमन्त्रीको दाबी कपोकल्पित

लेदोले थुनिएको सुरुङमा उद्धार गर्ने प्रविधि विश्वमै छैन ? दृष्टान्त भन्छ–प्रधानमन्त्रीको दाबी कपोकल्पित

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपालमा भदौ १० मा आएको विनाशकारी बाढी–पहिरोपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा ठुलो मात्रामा लेदो, ढुंगा र भग्नावशेष पसेका छन् । सयौँ कामदार सुरुङभित्र हराइरहेका वा थुनिएको आशङ्का गरिएको छ । उद्धार टोलीले सुरुङ खोल्न एक्स्काभेटर, नियन्त्रित विस्फोट, ड्रिलिङ, पाइपमार्फत अक्सिजन तथा क्यामेरा पठाउनेलगायतका उपाय प्रयोग गरिरहेका छन्।

    यही सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘लेदो भरेर थुनिएको सुरुङमा उद्धार गर्ने विशेषज्ञता र प्रविधि विश्वमै नभएको’ बताएका छन् । उनको भनाइको मूल आशय अहिले नेपालमा देखिएको जस्तो अत्यन्त जटिल परिस्थितिका लागि तयार र सजिलै प्रयोग गर्न सकिने कुनै एउटै ‘रेडीमेड’ प्रविधि विश्वमा नभएको हुन सक्छ । तर ‘विश्वमा यस्तो उद्धारको विशेषज्ञता वा प्रविधि नै छैन’ भन्ने उनको ‘कु’तर्क एकदमै भ्रामक र कपोकल्पित देखिन्छ । विश्वमा भएका केहि अभूतपूर्ण उद्धारका घटनाले स्वयम यस कुराको खण्डन गर्छन्:

    images

    १. भारतको सिल्क्यारा : ४१ कामदारकाे १७ दिनपछि जीवित उद्धार

    यसको सबैभन्दा नजिकको उदाहरण भारतको उत्तराखण्डको सिल्क्यारा–बारकोट सुरुङ हो । नोभेम्बर २०२३ मा सुरुङको एक भाग भत्किएपछि ४१ जना कामदार करिब १७ दिनसम्म सुरुङभित्र फसेका थिए । सुरुङमा करिब ६० मिटर भग्नावशेष थुप्रिएको थियो । ठुलो ड्रिलिङ मेसिनबाट उद्धार सुरुङ बनाउने प्रयासमा समस्या आएपछि उद्धारकर्ताले वैकल्पिक विधि अपनाए।

    अन्तिम चरणमा ‘र्‍याट–होल’ खानीमा काम गर्ने विशेषज्ञहरूलाई प्रयोग गरी मानिसकै हातबाट अन्तिम करिब १२ मिटर भग्नावशेष हटाइएको थियो । सबै ४१ जनालाई जीवितै बाहिर निकालियो । उद्धारमा भारतीय सेना, वायुसेना, राष्ट्रिय विपद् प्रतिक्रिया टोली र अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञहरू सहभागी थिए।

    यो घटनाका प्रमुख प्राविधिक सल्लाहकारमध्ये एक थिए अस्ट्रेलियाली सुरुङ विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्स । उनले ठुलो मेसिनले पहाडलाई थप अस्थिर बनाउन सक्ने भन्दै ‘कयातथि, कयातथि’ अर्थात् सावधानीपूर्वक र कम कम्पन हुने विधिबाट काम गर्न जोड दिएका थिए।

    अझ रोचक कुरा के छ भने, यही अर्नोल्ड डिक्स अहिले नेपालका सुरुङ उद्धार प्रयासमा पनि सल्लाह दिइरहेका छन्। उपलब्ध रिपोर्टअनुसार उनी मेलबर्नबाट उद्धार टोलीलाई परामर्श दिइरहेका छन्।

    यदि विश्वमा सुरुङ उद्धारको विशेषज्ञता नै छैन भने, भारतमा सफल भएको यही प्रकारको उद्धारका विशेषज्ञ नेपालमा किन सल्लाह दिइरहेका छन्?

    २. चिली : ६९ दिनपछि ३३ खानी मजदुरको उद्धार

    अर्को ठुलो उदाहरण चिलीको सान होसे खानी दुर्घटना हो । सन् २०१० मा खानी भत्किँदा ३३ जना मजदुर करिब २,३०० फिट गहिराइमा फसेका थिए । उनीहरूलाई तत्काल सुरुङ खनेर निकाल्न सम्भव थिएन । त्यसैले उद्धारकर्ताले पहिले सानो ड्रिलिङमार्फत उनीहरूको अवस्थाबारे पत्ता लगाए, त्यसपछि खाना, पानी र सञ्चारका लागि साँघुरो मार्ग बनाए र अन्ततः विशेष क्याप्सुलमार्फत सबै ३३ जनालाई ६९ दिनपछि जीवितै बाहिर निकाले।

    यो नेपालमा भइरहेको घटनासँग ठ्याक्कै उस्तै दुर्घटना होइन । चिलीमा मुख्य समस्या भत्किएको खानी थियो भने नेपालमा बाढीको पानीसँगै आएको लेदो, ढुंगा र विशाल मात्राको भग्नावशेषले जलविद्युत् सुरुङ थुनेको अवस्था छ। तर यसले भूमिगत क्षेत्रमा मानिस फस्दा विश्वमा प्रयोग हुने अत्याधुनिक प्रविधि विकसित भइसकेको देखाउँछ।

    ३. अमेरिकामा ‘माइन रेस्क्यु’ का लागि छुट्टै विशेषज्ञ टोली

    अमेरिकामा भूमिगत खानी दुर्घटनाका लागि विशेष तालिमप्राप्त उद्धार टोली र प्रविधि छन् । अमेरिकी माइन सेफ्टी एण्ड हेल्थ एडमिनिस्ट्रेसन (एमएसएचए) ले भूमिगत खानीमा फसेका वा घाइते कामदारको उद्धारका लागि विशेष तालिम, सञ्चार प्रणाली र अत्याधुनिक प्रविधिलाई उद्धारको महत्त्वपूर्ण पक्ष मानेको छ।

    त्यसो त अमेरिकी संरचनात्मक उद्धार प्रणालीमा भत्किएका संरचना तथा डेब्रिसको थुप्रोबाटबाट मानिस उद्धार गर्न विशेष ‘स्ट्रकचरल रेस्क्यु टिम’ को अवधारणा पनि छ भने सामुन्द्रिक आँधीको प्रकोकका दौरान पनि मानिसलाई लेदोको थुप्रोबाट उद्धार गरिदैँ आएको सर्वविविद नै छ।

    यसको अर्थ, ‘लेदो वा भग्नावशेषले भूमिगत संरचना थुनिँदा मानिस खोज्ने र निकाल्ने कुनै अन्तर्राष्ट्रिय विशेषज्ञता छैन’ भन्नु तथ्यसँग मेल खाँदैन । यो आफैँमा एक कुतर्क जस्तो सुनिन्छ।

    तर नेपालका यहाँ प्रधानमन्त्रीको भनाइको अर्को पक्ष महत्त्वपूर्ण हुन्छ । नेपालमा अहिले समस्या सामान्य सुरुङ भत्किएको मात्र होइन । बाढीले एकैपटक धेरै जलविद्युत् आयोजनाका सुरुङमा ठुलो परिमाणमा लेदो र भग्नावशेष पुर्‍याएको छ । थुप्रै श्रोतका अनुसार करिब ९०० त कामदार मात्रै हराइरहेको अनुमान गरिएको  छ र करिब ५०० जना सुरुङभित्र फसेको हुन सक्ने आशङ्का छ । सुरुङभित्र कहाँसम्म लेदो पसेको छ, कहाँ कामदार छन् र कुन भाग संरचनात्मक रूपमा सुरक्षित छ भन्ने निश्चित गर्न पनि कठिन भइरहेको सत्य हो अनि यो सामान्य ‘टनेल कोल्याप्स’ भन्दा निकै फरक चुनौती हो।

    तर यसैलाई आधार बनाएर घटना घटेको हप्ता दिनसम्म अन्तराष्ट्रिय विज्ञ तथा प्रविधिलाई लत्याएर उद्धारकर्म ओगटेर बस्नु र आठौं दिनमा आएर प्रधानमन्त्रीले ‘लेदो वा भग्नावशेषले भूमिगत संरचना थुनिँदा मानिस खोज्ने र निकाल्ने कुनै अन्तर्राष्ट्रिय विशेषज्ञता छैन’ भन्नु लापरर्वाही र गैरजिम्मेबारीपन हो भन्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार