काठमाडौँ । कोशी प्रदेशसभा बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बाढीका कारण जलविद्युत् आयोजनामा फसेका कर्मचारीहरूको उद्धारमा भइरहेको ढिलाइप्रति सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् । बैठकमा सांसद गोपाल तामाङले जलविद्युत् आयोजनाको टनेलभित्र सयौँ कर्मचारीहरू फसेका बताए । उनले झापा मेचीनगरका ४३ वर्षीय दीपक खरेललगायत ५७३ जनाभन्दा बढी कर्मचारी टनेलमा फसेको बताउँदै धेरै नागरिक जोखिममा रहेको बताए । उनले एकै घरमा २४ वटा लास भेटिएको हृदयविदारक घटनाले स्तब्ध बनाएको बताए।
सांसद मीना श्रेष्ठले बाढी आएको ६ दिन बितिसक्दा पनि उद्धार कार्य प्रभावकारी नभएको भन्दै आक्रोश व्यक्त गरिन् । ‘६ दिनसम्म उद्धारका लागि तयार रहेका विदेशी टोलीलाई संघीय सरकारले किन रोक्यो ?,’ उनले प्रश्न गरिन् । समयमै निर्णय लिन नसक्दा धेरैले ज्यान गुमाउनुपरेको र यसको जिम्मेवारी कसले लिने भन्दै उनले सरकारसँग जवाफ माग गरिन्।
त्यसैगरी, सांसद शिला दीक्षित कार्कीले भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढीलाई केवल एउटा घटनाको रूपमा नलिन आग्रह गरिन् । उनले कोशी प्रदेशका अरुण, तमोर र दूधकोशी बेसिनमा रहेका जोखिमयुक्त हिमतालहरूको नियमित वैज्ञानिक अनुगमन गर्न र तिब्बत सरकारसँग समन्वय गरेर पूर्वसूचना प्रणाली जडान गर्न सरकारलाई सुझाव दिइन्।
सांसद जयप्रकाश चौधरीले भने बाढी प्रभावितका साथै ग्रामथान जस्ता ऐतिहासिक क्षेत्रको संरक्षण र अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराए । पूर्वमुख्यमन्त्री समेत रहेका सांसद केदार कार्कीले हात्ती प्रभावित क्षेत्रका बासिन्दाका लागि ल्याइएको बीमा कार्यक्रमबारे जानकारी दिए।
उनले १७१५ रुपैयाँको प्रिमियममा मृत्यु वा अंगभंग भएमा १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको बताउँदै वन्यजन्तु र मानवबिच द्वन्द्व न्यूनीकरणमा जोड दिए । बैठकमा सांसदहरूले बाढी प्रभावित परिवारलाई तत्काल खाद्यान्न, स्वास्थ्य उपचार र लत्ताकपडा जस्ता राहत सामग्री उपलब्ध गराउन र बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।
यस्तै प्रदेशसभामा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद गोपालबहादुर विश्वकर्मा र नेपाली कम्युनिस्ट पार्टी दलका उपनेता बाबुराम गौतमले बाढी पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।



