काठमाडौँ। गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका गम्भीर सङ्कटमा परेको छ।
विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार हालसम्म ४२६ जनाभन्दा बढी स्थानीय बासिन्दा बेपत्ता भएका छन्।
विपत्तिमा सबैभन्दा बढी वडा नं. १ प्रभावित भएको छ, जहाँ २१९ जना बेपत्ता भएका छन् । वडा नं. २ मा ८८ जना, वडा नं. ३ मा २७ जना, वडा नं. ४ मा ७७ जना र वडा नं. ५ मा १५ जना बेपत्ता भएका छन्।
गाउँपालिकाकै ५ जना कर्मचारीहरू समेत बेपत्ता भएका छन्, जसमध्ये एक जनाको मात्र शव फेला परेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले जानकारी दिए।
‘तीन–चार वटा टोल त पूरै सम्पर्कविहीन छन्’, उप्रेतीले भने ‘त्यहाँ कति घर थिए र कति मानिस बस्थे भन्ने यकिन तथ्याङ्क निकाल्न समेत कठिन भइरहेको छ।’
सबै सेवा ठप्प
बाढीले गाउँपालिकाको प्रशासनिक भवनमात्र नभई तीन वटा विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा कार्यालय र कृषि कार्यालय समेत बगाएको छ । भौगोलिक रूपमा त्रिशूली नदी पारि रहेका वडा नं. १, २ र ३ मा राहत र उद्धारका सामग्री पुर्याउन अहिले ठुलो चुनौती देखिएको छ।
हाल गाउँपालिकामा विद्युत् सेवा र बैंकिङ सेवा पूर्ण रूपमा ठप्प छ । कार्यालय र बैंकहरू नचलेका कारण पीडितहरूलाई तत्काल नगद राहत दिन सक्ने अवस्थामा समेत नरहेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीको भनाइ छ।
होल्डिङ सेन्टरमा सयौँ आश्रित
घरबारविहीन भएका र जोखिममा रहेकाहरूका लागि गाउँपालिकाले विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरेको छ । गणेश आदर्श विद्यालयमा ४९ जना, सल्ले प्राविमा १२१ जना, कालिका माविमा १९ जना, भीमसेन आधारभूत विद्यालयमा ४९ जना, शिवालयमा २०० जना र सामुदायिक भवनमा १८ जनालाई राखिएको छ।
शिवालयमा रहेकामध्ये १३० जनाभन्दा बढी बालबालिका छन्।
अभिभावक गुमाएका बालबालिका चुनौती
अहिले गाउँपालिकाका सामु बेपत्ताहरूको खोजीसँगै विस्थापितहरूको पुनर्स्थापना मुख्य चुनौती बनेको छ । विशेष गरी बुबा–आमा दुवै गुमाएका बालबालिका, एकल महिला र ज्येष्ठ नागरिकहरूको संरक्षण र पालनपोषणको विषय पनि छ।
प्रमुख प्रशासकीय अधिकृत उप्रेतीका अनुसार अहिले केन्द्र र प्रदेश सरकारभन्दा पनि विभिन्न गैरसरकारी संस्था (आईएनजीओ/एनजीओ) र स्वयंसेवकहरूबाट राहत प्राप्त भइरहेको छ । क्षतिको तुलनामा राहत र पुनर्स्थापनाका लागि ठुलो स्रोत र साधनको आवश्यकता देखिएको छ।



