Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ब्रह्माण्डमा किन कम ताराहरू बनिरहेका छन् ? चिनियाँ वैज्ञानिक अध्ययनले खुलायो नयाँ संकेत

ब्रह्माण्डमा किन कम ताराहरू बनिरहेका छन् ? चिनियाँ वैज्ञानिक अध्ययनले खुलायो नयाँ संकेत

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं  । चिनियाँ वैज्ञानिकहरूले विश्वकै विशाल रेडियो दूरबिनमध्ये एक चीनको फाइभ हन्ड्रेड मिटर एपर्चर स्फेरिकल टेलिस्कोप ( एफएएसटि) र डार्क इनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट (डिईएसआई) प्रयोग गरेर ब्रह्माण्डमा नयाँ ताराहरू बन्ने दर घट्नुको कारणबारे महत्वपूर्ण नयाँ संकेत फेला पारेका छन्।

    अनुसन्धानका अनुसार पछिल्ला करिब ४ अर्ब ५० करोड वर्षमा ब्रह्माण्डमा ताराहरू बन्ने दर तीव्र रूपमा घटेको भए पनि ताराहरू निर्माण गर्न आवश्यक प्रमुख इन्धनमध्ये एक मानिने न्युट्रल एटोमिक हाइड्रोजनको भण्डार भने तुलनात्मक रूपमा स्थिर रहेको पाइएको छ।

    images

    यसले ब्रह्माण्डमा ताराहरू बन्ने क्रम घट्नुको कारण आकाशगंगाहरूमा तारा निर्माणका लागि आवश्यक ग्यास सकिँदै जानु मात्रै होइन भन्ने नयाँ संकेत गरेको छ।

    ग्यास सकिँदै गएको हो कि तारा निर्माणको क्षमता घटेको हो?

    ब्रह्माण्डमा नयाँ ताराहरू कम बन्नुको कारण खगोल विज्ञानको महत्वपूर्ण प्रश्नमध्ये एक हो । एउटा सम्भावित व्याख्या के थियो भने आकाशगंगाहरूले ताराहरू बनाउन आवश्यक चिसो ग्यास बिस्तारै प्रयोग गर्दै गए र त्यसैले नयाँ तारा निर्माणको दर घट्यो।

    यदि यस्तो भएको भए ताराहरू बन्ने दरसँगै चिसो ग्यासको मात्रा पनि उल्लेखनीय रूपमा घटेको हुनुपर्ने थियो । तर नयाँ अध्ययनले त्यसको विपरीत संकेत गरेको छ।

    तारा निर्माणका लागि आवश्यक चिसो ग्यासको महत्वपूर्ण स्रोत न्युट्रल एटोमिक हाइड्रोजन हो । तर यसको अवलोकन गर्न निकै कठिन हुन्छ, किनभने यसबाट निस्कने २१ सेन्टिमिटरको रेडियो संकेत अत्यन्त कमजोर हुन्छ । विशेषगरी टाढाका आकाशगंगाबाट आउने यस्तो संकेत छुट्याउन झनै कठिन हुन्छ।

    यसअघि भएका अध्ययनहरू पनि सीमित क्षेत्रफलमा गरिएका सर्वेक्षण वा पर्याप्त संवेदनशीलता नभएका उपकरणका कारण पूर्ण तस्वीर प्रस्तुत गर्न असक्षम थिए।

    २५ लाख आकाशगंगाको अध्ययन

    यस चुनौतीलाई पार गर्न चिनियाँ अनुसन्धानकर्ताहरूले ‘एफएएसटि’को अत्यन्त संवेदनशील रेडियो अवलोकनलाई ‘डिईएसआई’ले गरेको ठूलो क्षेत्रफलको आकाशगंगा सर्वेक्षणसँग संयोजन गरेका थिए।

    अनुसन्धानमा करिब २५ लाख आकाशगंगा समेटिएका थिए, जसले आकाशको लगभग एक तिहाइ भाग ओगट्छ । व्यक्तिगत आकाशगंगाबाट आउने कमजोर हाइड्रोजन संकेत पहिचान गर्न कठिन भएकाले वैज्ञानिकहरूले धेरै आकाशगंगाबाट आएका संकेतलाई तिनको ‘रेडसिफ्ट’का आधारमा मिलाएर संयुक्त रूपमा विश्लेषण गरे । यसरी व्यक्तिगत रूपमा देख्न नसकिने न्युट्रल हाइड्रोजनको औसत संकेत पहिचान गर्न सम्भव भयो।

    ४ अर्ब ५० करोड वर्षअघि तारा निर्माण दर २.५ गुणा बढी

    अध्ययनले करिब ४ अर्ब ५० करोड वर्षअघि ब्रह्माण्डमा ताराहरू बन्ने दर अहिलेको तुलनामा करिब २.५ गुणा बढी रहेको देखाएको छ । तर सोही समयमा न्युट्रल हाइड्रोजनको घनत्व भने अहिलेको तुलनामा करिब १.४ गुणा मात्र बढी थियो।

    अर्थात् ताराहरू बन्ने दरमा आएको गिरावट हाइड्रोजनको आपूर्तिमा आएको गिरावटभन्दा निकै तीव्र छ।यसले ब्रह्माण्डमा तारा निर्माण घट्नुको कारण केवल ताराहरू बनाउन आवश्यक ग्यासको भण्डार घट्दै जानु मात्र होइन भन्ने संकेत गरेको छ।

    त्यासोभए ग्यास हुँदाहुँदै तारा किन कम बनिरहेका छन् ?

    अनुसन्धानको निष्कर्षले वैज्ञानिकहरूलाई अर्को महत्वपूर्ण प्रश्नतर्फ डोर्‍याएको छः यदि आकाशगंगाहरूमा अझै पर्याप्त न्युट्रल हाइड्रोजन छ भने उनीहरू त्यसलाई नयाँ तारामा किन कम परिणत गरिरहेका छन् त ? वा, किन कम प्रभावकारी हुँदै गएका छन्?

    यसले आकाशगंगाभित्र ग्यासबाट ताराहरू बन्ने प्रक्रियालाई प्रभाव पार्ने अन्य भौतिक प्रक्रियाबारे थप अध्ययन आवश्यक रहेको देखाएको छ।

    वैज्ञानिकहरूका लागि यो खोज ब्रह्माण्डमा तारा निर्माण क्रमशः घट्दै जानुको कारण तथा समयसँगै आकाशगंगाहरू कसरी विकसित हुँदै गए भन्ने बुझ्न महत्वपूर्ण संकेत बनेको छ।

    चीनसहित अन्तर्राष्ट्रिय टोलीको अनुसन्धान

    यो अनुसन्धान चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतका नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरीज अफ चाइना (एनएओसि), साङ्घाई एस्ट्रोनोमिकल अब्जर्भेटरी (एसएचएओ), साङ्घाई जियाओ टोङ विश्वविद्यालयलगायत विभिन्न संस्थाका वैज्ञानिक सम्मिलित अन्तर्राष्ट्रिय टोलीले गरेको हो।

    एफएएसटि र डिईएसआई जस्ता अत्याधुनिक उपकरणबाट प्राप्त विशाल तथ्यांकलाई एकीकृत गरेर गरिएको यस अध्ययनले ब्रह्माण्डको विकास र आकाशगंगामा तारा निर्माणको प्रक्रियाबारे नयाँ अनुसन्धानका लागि आधार तयार गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार