काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी व्यवस्थापनका क्रममा सरकारमाथि उठेका विभिन्न प्रश्नहरूको संसद्मा स्पष्टीकरण दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय सहयोग, सूचना प्रवाह, शव व्यवस्थापन र सुरुङ उद्धारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन्।
प्रधानमन्त्री शाहले विपद्को व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय सहयोग लिन सरकारले आनाकानी गरेको भन्दै उठेको प्रश्नबारे प्रधानमन्त्री भने, ‘यति ठुलो विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्नै आउँदैन। पहिलो दिनदेखि नै हामीले विदेशबाट सहयोग लिइरहेका छौँ।’
सरकारमाथि विपद्मा सरकारले सूचना प्रवाह नगरेको भन्दै प्रश्न उठेको थियो । त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले सूचना प्रवाह गर्न ११ लाख एसएमएस पठाइएको जानकारी दिए । समयमा सूचना दिएन भन्ने आरोपको खण्डन गर्दै शाहले यो विपद् पूर्वानुमानभन्दा बाहिरको कुरा भएको बताए । उनले भने, ‘सरकारलाई थाहा हुने बित्तिकै ११ लाख नागरिकलाई एसएमएसमार्फत सूचना पठाइएको थियो।’
प्रधानमन्त्री शाहले शव व्यवस्थापनको बारे उठेको प्रश्नको पनि जवाफ दिए । उनले शव व्यवस्थापन वैज्ञानिक आधारमा गरिएको बताए । शव व्यवस्थापनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले ठुलो सङ्ख्यामा मृत्यु भएकाले कानुनी र वैज्ञानिक आधार टेकेर पहिचान नभएका शवलाई जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिए। उनले भने–‘डिएनए परीक्षण गरिएको छ, पछि म्याच गराएर अन्तिम संस्कार गर्न सकिन्छ। यसमा भ्रममा नपर्न आग्रह गर्दछु।’
सरकारमाथि प्रदेश र स्थानीय तहसँग समन्वय नगरेको भन्ने विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिए । उनले प्रदेश र स्थानीय तहसँग निरन्तर संवादमा रहेको बताए । उनले समन्वयमार्फत नै राहत र उद्धारका कामहरू भइरहेको दाबी गरे।
सुरुङ उद्धारको विषयमा उठेको प्रश्नबारे पनि जवाफ दिए । जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका सम्बन्धमा प्रधानमन्त्रीले राज्यका सबै पक्षहरू सुरुदेखि नै उद्धारमा लागेको बताए। ‘यो फरक खालको उद्धार भएकाले यसमा निकै ठुलो प्राविधिक ज्ञान चाहिन्छ,’ उनले भने, ‘आफ्नो स्रोतसाधनले भ्याएसम्म सरकारले प्रयास गरिरहेको छ।’



