काठमाडौँ । नेपालले पश्चिम अफ्रिकी मुलुक गिनी-बिसाउसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १८४ पुगेको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा बुधबार दुई देशका प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।
नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा र गिनी-बिसाउका तर्फबाट स्थायी प्रतिनिधि साम्बा सानोले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेसँगै दुई देशबिच कूटनीतिक सम्बन्ध औपचारिक रूपमा स्थापित भएको हो।
नेपालको पछिल्लो कूटनीतिक सम्बन्ध दुई वर्षअघि किरिबाटीसँग स्थापना भएको थियो। त्यसयता नेपालले नयाँ मुलुकसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको थिएन।
संयुक्त राष्ट्रसंघमा हाल १९३ सदस्य राष्ट्र छन्। तीमध्ये अब नेपालले १८४ देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ भने अझै नौ देशसँग नेपालको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुन बाँकी छ।
नेपालले सन् १८१६ मा बेलायतसँग पहिलोपटक कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। त्यसपछि सन् १९४७ मा अमेरिकासँग सम्बन्ध कायम भयो। क्रमशः भारत, फ्रान्स र चीनलगायत अन्य मुलुकसँग पनि नेपालले कूटनीतिक सम्बन्ध विस्तार गर्दै आएको छ।
गिनी-बिसाउबारे
गिनी-बिसाउ पश्चिम अफ्रिकामा अवस्थित मुलुक हो। यो पोर्चुगलको पूर्वउपनिवेश थियो। करिब ३६ हजार १२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गिनी-बिसाउ प्राकृतिक संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षका कारण चिनिन्छ। पर्यटन पनि यसको महत्त्वपूर्ण सम्भावनाको क्षेत्र हो।
गिनी-बिसाउले सन् १९७३ मा स्वतन्त्रताको घोषणा गरेको थियो। पोर्चुगलले सन् १९७४ मा यसको स्वतन्त्रतालाई औपचारिक मान्यता दिएको थियो। हाल पनि गिनी-बिसाउको आधिकारिक तथा राष्ट्रिय भाषा पोर्चुगिज हो।
नेपाल र गिनी-बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै दुई देशबिच आगामी दिनमा राजनीतिक, आर्थिक, पर्यटन तथा बहुपक्षीय क्षेत्रमा सहकार्य विस्तार गर्ने आधारसमेत तयार भएको छ।



