काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलको भविष्य संसद्मा कति सिट जितिन्छ भन्ने कुराले मात्र निर्धारण नहुने स्पष्ट पारेका छन्।
दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बुधबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले दलको वास्तविक शक्ति समानता, स्वतन्त्रता, संघीयता र राष्ट्रिय एकताका एजेण्डामा उसले कति प्रभावकारी नेतृत्व गर्छ भन्ने कुरामा निर्भर रहने बताएका हुन्।
प्रतिवेदनमा मधेसका राजनीतिक मुद्दालाई राष्ट्रिय मुद्दासँग जोडेर अघि बढाउन सकिएमा जसपालाई मधेसमा मात्र सीमित नराखी नेपालकै वैकल्पिक राष्ट्रिय नेतृत्वको भूमिकामा स्थापित गर्न सकिने दाबी गरिएको छ। मधेसको प्रश्नलाई केवल क्षेत्रीय प्रश्नका रूपमा नभई समान नागरिकता, समान अवसर, समान प्रतिनिधित्व र सामाजिक न्यायको राष्ट्रिय प्रश्नका रूपमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन्।
साथै, कर्णाली, सुदूरपश्चिम, पहाडी तथा हिमाली क्षेत्रका पिछडिएका र उत्पीडित वर्गका समस्यालाई पनि समान प्राथमिकताका साथ उठाएर क्षेत्रीय पहिचान र राष्ट्रिय एकताबिच सन्तुलन कायम गर्नुपर्ने यादवको भनाइ छ।
अध्यक्ष यादवले प्रदेश सिमाङ्कन र नामाङ्कन, पूर्ण समानुपातिक प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा विगतका सम्झौताको पूर्ण कार्यान्वयनका लागि लोकतान्त्रिक र संवैधानिक सङ्घर्ष निरन्तर जारी राख्नुपर्ने बताएका छन्।
पार्टीलाई केवल निर्वाचनमुखी नभई स्पष्ट विचार, प्रशिक्षित कार्यकर्ता तथा समाजवादी शक्तिका रूपमा पुनर्गठन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। सत्ता प्राप्तिका लागि विपरीत विचार भएका दलहरूसँग अप्राकृतिक गठबन्धन गर्नुको सट्टा आफ्नै विचार र सिद्धान्तका आधारमा जनतामा जानुपर्ने र सत्तालाई साध्य नभई परिवर्तनको साधनका रूपमा प्रयोग गर्ने नयाँ राजनीतिक मापदण्ड बनाउनुपर्नेमा उनले जोड दिएका छन्।



