काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले चालेका कदमहरूबारे प्रतिनिधि सभालाई विस्तृत जानकारी दिएका छन् । बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे।
तत्कालका कदम र निर्देशन
प्रधानमन्त्री शाहका अनुसार बाढी आएलगत्तै सरकार उच्च सतर्कता (अलर्ट) मा रहेको थियो । घटना लगत्तै प्रधानमन्त्रीकै अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतलाई प्राथमिकता दिने निर्णय भएको उनले जानकारी दिए।
सुरक्षालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी र मुग्लिङ–नारायणगण सडकमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको र जोखिमयुक्त क्षेत्रमा आवतजावतमा रोक लगाइएको उनले बताए।
खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरिएको जानकारी प्रधानमन्त्रीले दिए । प्रभावित जिल्लाका विपद् व्यवस्थापन कोषमा तत्कालका लागि बजेट समेत पठाइएको उनले बताए।
भदौ १० गते नै बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सरकारी र नेपाली सेनाका अस्पतालहरूमा मिलाइएको, घर गुमाएकाहरूका लागि सुरक्षित बास र खाने व्यवस्था गृह मन्त्रालय र प्राधिकरणमार्फत भइरहेको, अवरुद्ध सडक, विद्युत्, खानेपानी र दूरसञ्चार सेवा यथाशीघ्र सुचारु गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको प्रधानमन्त्रीले जानकारी दिए।
मृतकका परिवारलाई कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय भएको पनि उनको भनाइ थिए।
विपद् प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको उनले बताए । भौतिक पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ।
प्रधानमन्त्री शाहले प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद भइरहेको उल्लेख गरे । ‘सुरुवातदेखि नै प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरूसँग हाम्रो सम्पर्क थियो,’ उनले भने, ‘बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेर आ–आफ्नो जिम्मेवारी बाँडफाँड गरी काम भइरहेको छ।
उनले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको जीवन रक्षा र पुनर्स्थापनामा केन्द्रित रहेको स्पष्ट पारे।



