काठमाडौँ: रसुवागढी क्षेत्रमा आएको भिषण बाढीपछि जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ५३ वर्षीय लीलानाथ न्यौपानेले अद्भूत साहस र भाग्यका कारण नयाँ जीवन पाएका छन्। बाढीले जलविद्युत् आयोजनाको सुरुङमार्ग (टनेल) भित्र लेदो र पानी भरेपछि न्यौपाने लगायत थुप्रै कामदारहरू भित्रै थुनिन पुगेका थिए।
सुरुङभित्र घोर अन्धकार, अक्सिजनको कमी र तीव्र गतिमा पसेको बाढीको लेदोबीच जीवन र मृत्युको दोसाँधमा परेका न्यौपानेले हार मानेनन्। लेदो र हिलोले भरिएको सुरुङभित्र करिब तीन किलोमिटर क्षेत्र कहिले घस्रिँदै त कहिले पौडिँदै उनी बाहिर निस्कन सफल भए।
"सुरुङभित्र स्थिति यति भयावह थियो कि जीवन सकियो भन्ने लागिसकेको थियो," न्यौपानेले आफ्नो भोगाइ सुनाउँदै भने, "चिसो पानी, बाक्लो लेदो र अँध्यारोमा सास फेर्नसमेत गाह्रो भइरहेको थियो। कसरी बाहिर निस्किएँ, त्यो सोच्दा अहिले पनि आङ सिरिङ्ग हुन्छ। म त जसोतसो निस्किएर बाँच्न सफल भएँ, तर भित्र अझै साथीहरू अड्किएका छन्, बाँकी त अब दैवले नै जानोस्!"
उनीजस्तै केही व्यक्तिहरू आफ्नै प्रयासमा बाहिर निस्कन सफल भए पनि जलविद्युत् आयोजनाका अन्य सुरुङहरूमा अझै धेरै कामदारहरू फसेको आशङ्का गरिएको छ।
सुरक्षा निकाय र विशेषज्ञ टोलीहरूले लेदोले भरिएका सुरुङभित्र खोजी तथा उद्धार कार्य जारी राखेका छन्।



