काठमाडौं । गएको महिना लिपजिग विमानस्थलमा भएको ड्रोन आक्रमणमा रुसको संलग्नता रहेको दाबी जर्मनीले गरेको छ । ड्रोन आक्रमणमा प्रयोग भएको उपकरणको परीक्षण र गुप्तचर सूचनाबाट रुसी संलग्नता पुष्टि भएको जर्मन अधिकारीहरूले बताएका हुन्।
पूर्वी जर्मनीको लिपजिग/हाले विमानस्थलमा अगस्ट ४ मा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेको थियो । उक्त ड्रोन युक्रेनी कार्गो विमानहरू नजिकै भेटिएको थियो । तर विस्फोटकको डिटोनेटरमा समस्या देखिएपछि विस्फोट हुन सकेन।
अनुसन्धानकर्ताहरूले विमानस्थलनजिकै अर्को ड्रोन कार्गो विमानसँग ठोक्किएको हुनसक्ने आशङ्का गरेका छन्। घटनाको करिब १० दिनपछि विमानस्थल नजिकै तेस्रो ड्रोन पनि फेला परेको बताइएको छ।
लिपजिग विमानस्थलको घटना युरोपमा रुसले गर्दै आएको भनिएको ‘हाइब्रिड अपरेसन’ को स्थापित शैलीसँग मेल खाने जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्ड्टले बताए । जर्मनीलाई फेरि पनि निशाना बनाउन सकिने जोखिम रहेको पनि उनले बताए।
तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्मनीको आरोप अस्वीकार गरेका छन् । लिपजिग विमानस्थलमा भएको ड्रोन घटनामा रुसलाई दोषी देखाउन जर्मनीले प्रमाण नै तयार पारेको आरोप उनले लगाए । तर पुटिनले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण भने प्रस्तुत गरेनन् । बर्लिनस्थित रुसी दूतावासले पनि रुस संलग्न भएको जर्मनीको दाबीलाई आधारहीन भनेको छ।
ड्रोन आक्रमणको आरोपपछि जर्मनीले रुसविरुद्ध थप कडा कदम चाल्ने घोषणा गरेको छ । जर्मन विदेशमन्त्री योहान वाडेफुलले बोनस्थित रुसी वाणिज्य दूतावास बन्द गर्ने प्रक्रिया अघि बढाउने बताए।
साथै बर्लिनस्थित रुसी हाउसको सञ्चालन सम्झौता पनि अन्त्य गरिने उनले घोषणा गरे । रुसी हाउसलाई लामो समयदेखि जर्मनीमा जासुसी गतिविधि तथा रुसी प्रचार फैलाउन प्रयोग गरिएको आरोप लाग्दै आएको छ।



