Oct 30 2026 | २०८३ कार्तिक १४ गते

चार महिनामै हर्क साम्पाङ र सुदन किरांतीबीच खटपट, किरांती समूहलाई बैठकै बहिस्कार

चार महिनामै हर्क साम्पाङ र सुदन किरांतीबीच खटपट, किरांती समूहलाई बैठकै बहिस्कार

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरांतीले गरेको राजनीतिक एकता चार महिनामै सङ्कटमा परेको छ। 

    पार्टीका तर्फबाट आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा किराती पक्षधर नेता तथा कार्यकर्ताहरूलाई बेवास्ता गरी नबोलाएपछि दुई नेताबीचको आन्तरिक खटपट सतहमा आएको हो।

    images

    यसअघि श्रम संस्कृति पार्टीबाट कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा स्वयं पार्टी अध्यक्ष हर्क साम्पाङले सुदन किरांतीको प्रचार गरेका थिए। तर, साम्पाङको एकलौटी कार्यशैलीका कारण सुरुदेखिनै दुई पक्षबीच भावनात्मक एकता हुन सकेको थिएन। अध्यक्ष साम्पाङले विगत चार महिनासम्म पार्टीको औपचारिक बैठकसमेत नबोलाई केवल फेसबुक स्ट्याटसका भरमा दल सञ्चालन गर्दै आएको आरोप लागेको छ।

    आज आयोजित केन्द्रीय समिति बैठकमा अध्यक्ष साम्पाङले वरिष्ठ नेता किरांतीलाई कुनै पनि किसिमको जानकारी वा खबर नगरेको सुदन समूहका एक नेताले बताएका छन्। पछिल्लो समय साम्पाङ र किरांतीबीच सामान्य बोलचालसमेत बन्द भएको छ। बैठकमा नबोलाइएपछि पार्टी एकतामा गहिरो दरार उत्पन्न भएको र यसलाई किरांती समूहले गम्भीर रूपमा लिएको छ। परिस्थितिको मूल्याङ्कन र भावी रणनीति तय गर्न किरांतीले आज आफ्नै समूहको छुट्टै बैठकसमेत बोलाएका छन्।

    यता, श्रम संस्कृतिका केही अन्य नेताहरूले भने आजको बैठकले पार्टी एकतालाई औपचारिक रूपमा अनुमोदन गर्ने र भोलि ४१ सदस्यीय पूर्ण केन्द्रीय समितिको बैठक बस्ने दाबी गरेका छन्। तर, यस विषयमा अध्यक्ष साम्पाङले आफूसँग कुनै पनि प्रकारको परामर्श नगरेका कारण नेता किरांती अझै पनि आश्वस्त हुन सकेका छैनन्। चुनावका बेला निकै चर्चामा आएको यो सहकार्य नेतृत्वबीचको तालमेल अभावका कारण सुरुमै धरापमा पर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार