Oct 30 2026 | २०८३ कार्तिक १४ गते

धादिङमा शव फेला परेकामध्ये ६ जनाको मात्रै सनाखत

धादिङमा शव फेला परेकामध्ये ६ जनाको मात्रै सनाखत

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी किनारमा फेला परेका शवहरूमध्ये हालसम्म ६ जनाको मात्रै पहिचान खुलेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढीले बगाएर ल्याएका कुल ५९ वटा शव फेला परेकोमा ६ जनाको मात्रै सनाखत हुन सकेको हो।

    प्रशासनका अनुसार सनाखत हुनेहरूमा भक्तपुर नगरपालिका-९ का सत्य सुन्दर प्रजापति, रसुवा उत्तरगया गाउँपालिका-५ की फुलमाया ढकाल र काठमाडौं महानगरपालिका-१६ घर भई हाल गजुरी-६ मा बस्दै आएकी सुन्दरी श्रेष्ठ रहेका छन् । त्यसैगरी, गोरखा पालुङटार-५ की ५४ वर्षीया तारा राना भाट तथा नुवाकोट विदुर नगरपालिका-१० का ३२ वर्षीया सोनिया डंगोल र ३३ वर्षीया अष्ट लक्ष्मी डंगोलको पनि पहिचान खुलेको छ।

    images

    पहिचान खुलेका यी ६ वटै शवहरू परिवारले बुझिसकेका छन्।

    फेला परेका अन्य शव र मानव अङ्गहरूको अवस्था क्षतविक्षत रहेकाले पहिचानमा समस्या देखिएको छ । बाढीले बगाएर ल्याएका शवहरू पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंको टिचिङ अस्पताल र धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो। शरीरका टुक्राहरू धेरै भएको र शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले प्रशासनले कानुनी र वैज्ञानिक प्रक्रिया अपनाएर पहिचानको प्रयास गरेको थियो।

    पहिचान हुन नसकेका बाँकी २३ वटा शव र शवका टुक्राहरूलाई डिएनएनमुना संकलन गरी व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू र धुलिखेल अस्पतालका फरेन्सिक विज्ञ डा. राजकुमार कार्कीको रोहबरमा गजुरी गाउँपालिका-५ स्थित भोटे चिहान ठूलो सामुदायिक वन क्षेत्रमा ती शवहरूको व्यवस्थापन गरिएको हो।

    अझै पनि धादिङका विभिन्न पालिकाका १४७ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार