Oct 30 2026 | २०८३ कार्तिक १४ गते

यस्तो छ धादिङमा विनाशकारी बाढीबाट भएको क्षति र उद्धारको विवरण

यस्तो छ धादिङमा विनाशकारी बाढीबाट भएको क्षति र उद्धारको विवरण

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले धादिङ जिल्लाको त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जनधनको क्षति पुर्‍याएको छ।

    भदौ १० गते बुधबार बिहान आएको उक्त बाढीका कारण उत्पन्न संकटको प्रारम्भिक विवरण जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको छ । प्रशासनका अनुसार भदौ १६ गते साँझसम्मको तथ्याङ्क हेर्दा बाढीका कारण ठूलो संख्यामा मानवीय र भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुगेको देखिन्छ।

    images

    बाढीको चपेटामा परेकामध्ये हालसम्म ३ जनाको जीवितै उद्धार गरिएको छ, जसमा दुई जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन् । तर, मानवीय क्षतिको पाटो निकै दुःखद रहेको छ।

    प्रशासनका अनुसार हालसम्म  बाढीले बगाएर ल्याएका ३३ वटा शव र शरीरका २६ टुक्रा गरी कुल ५९ वटा अवशेष फेला परेका छन् । यी शवहरूमध्ये पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २७ वटा, काठमाडौंको टिचिङ अस्पतालमा ७ वटा र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा २३ वटा राखिएका थिए । जसअनुसार हालसम्म ६ जना मृतकको मात्र पहिचान खुलेको छ भने शव परिवारले बुझिसकेका छन् । पहिचान हुन नसकेका अन्य शवहरूलाई कानुनी र वैज्ञानिक प्रक्रिया (डीएनए संकलन) पूरा गरी गजुरीस्थित भोटे चिहान सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ।

    बाढीमा परी बेपत्ता हुनेहरूको संख्या निकै उच्च रहेको छ । आफन्त र स्थानीय तहबाट प्राप्त विवरण अनुसार धादिङका विभिन्न पालिकाका गरी कुल १४७ जना अझै सम्पर्कविहीन छन् । जसमा नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा बढी ३६ जना र थाक्रे गाउँपालिकाबाट २२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा धादिङ घर भई रसुवा र नुवाकोटमा कार्यरत कर्मचारीहरू तथा गोसाइँकुण्ड मेला गएका मानिसहरू समेत रहेको प्रशासनले जनाएको छ । यसका साथै, बाढीका कारण गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका गरी कुल ५२९ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

    भौतिक पूर्वाधारतर्फ बाढीले धेरै क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा गरी ७ वटा पक्की पुल र १६ वटा झोलुङ्गे पुलमा पूर्ण वा आंशिक क्षति पुगेको छ । कोल्पुटार, जहरेखेत, घाटबेसी, फुर्केखोला र जिन्टेटारका पक्की पुलहरू ध्वस्त हुँदा यातायात आवागमनमा गम्भीर असर परेको छ । त्यस्तै, पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा सडक भासिएका कारण दुईतर्फी बाटो अवरुद्ध भएको छ । बेनीघाट रोराङको कृष्ण भिर, गजुरीको परेवा भिर र सितलबजार क्षेत्रमा सडकको तल्लो भाग बाढीले बगाउँदा यातायात सञ्चालनमा चुनौती थपिएको छ।

    विपदको यस घडीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ८ सयभन्दा बढी सुरक्षाकर्मीहरू शव व्यवस्थापन, प्रतिकार्य र सुरक्षामा खटिएका छन् । विस्थापित भएका परिवारहरूलाई गल्छी र गजुरीका विभिन्न क्याम्पस तथा सरकारी भवनहरूमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ । यसैबीच, बाढीले बगाएको धनमाल चोरी गर्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सिद्धलेकको त्रिशूली किनारमा फेला परेको एक सेफ (भल्ट) बाट ६३ हजारभन्दा बढी नगद र सुनचाँदीका सिक्काहरू बरामद गरी सुरक्षित राखिएको छ । प्रशासनले क्षतिको विवरण अझै संकलन भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार