काठमाडौँ । राष्ट्रिय सभामा बोल्ने सांसदहरूले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी नभएको भन्दै आलोचना गरेका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले उद्धार, राहत र पुनर्स्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमा देखिनुपर्नेमा जोड दिइन्। बाढीका कारण तिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूली क्षेत्रका बस्ती तथा सडक, सञ्चार र जलविद्युत् आयोजना जस्ता महत्त्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले बताइन्।
सरकारले विदेशी प्राविधिक टोलीलाई फिर्ता पठाएको भन्ने सुन्नमा आएको भन्दै उनले संकटको समयमा यस्तो गैरजिम्मेवार व्यवहार नगर्न सचेत गराइन्। तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको र राहत वितरणमा पारदर्शिता नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। सरकारले सामाजिक सञ्जालमार्फत नभई संसद्मा उपस्थित भएर आधिकारिक जानकारी दिनुपर्ने उनको माग छ।
पन्तले भनिन्, ‘अहिलेको पहिलो प्राथमिकता जीवन बचाउने, बेपत्ताको खोजी र राहत वितरण हुनुपर्छ। जलविद्युत् आयोजनाका सुरुङभित्र प्राविधिक र कामदार फसेको आशङ्का रहेकाले आधुनिक टनेल रेस्क्यु प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गरिनुपर्दछ। अहिलेको परिस्थिति राजनीतिक प्रतिस्पर्धा गर्ने समय होइन, यो राष्ट्रिय एकता, सहकार्य र मानवीय संवेदनशीलता प्रदर्शन गर्ने समय हो।’
शवको पहिचान र व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्दै पन्तले डीएनए वा फिंगरप्रिन्ट प्रविधि प्रयोग गरी प्रशासनिक झन्झटबिना शव आफन्तलाई बुझाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्। साथै, सीमा क्षेत्र र छिमेकी मुलुकसम्म पुगेका शवहरूको खोजी र व्यवस्थापनबारे पनि उनले सरकारको जवाफ माग गरिन्।
जलवायु परिवर्तनका कारण मुलुक नै जोखिममा परेको बताउँदै नेता पन्तले पुनर्निर्माणका कार्यहरू जोखिमयुक्त ठाउँमा नभई सुरक्षित स्थानमा गरिनुपर्ने बताइन्। उनले बेपत्ता नागरिकको शीघ्र खोजीका लागि सरकारका सम्पूर्ण निकायलाई सक्रिय हुन आग्रह गर्दै राष्ट्रिय सहकार्यका लागि आह्वानसमेत गरिन्।
यसैगरी, बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले भदौ १० गते रसुवागढीको टिमुरे नाकामा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए। नेता सुवेदीले उक्त बाढीलाई इतिहासकै क्रूर र हृदयविदारक घटनाको रूपमा चित्रण गरे।
बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत झन्डै दुई दर्जन जिल्लाका नागरिकलाई प्रभावित पारेको र सो क्षेत्रमा रहेका चीन, भारतसहित विभिन्न देशका सयौँ पर्यटकहरूसमेत बेपत्ता भएको उनले जानकारी दिए। हालै चीनमा सम्पन्न अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को सेमिनारमा सहभागी भई फर्केका नेता सुवेदीले जलवायु परिवर्तनका कारण धनी र विकसित मुलुकहरूले प्रकृतिमाथि गरेको दोहनको परिणाम नेपालजस्ता मुलुकले भोग्नुपरिरहेको विषय आफूहरूले अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक उठाएको बताए।
उद्धार कार्यमा देखिएका कमजोरीहरूबारे चर्चा गर्दै सुवेदीले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो सामर्थ्यअनुसार काम गरिरहेका छन् तर कतिपय स्थानमा अझै पनि उद्धारमा ढिलाइ भइरहेको छ। सुरक्षा निकायहरू स्रोतसाधनविहीन अवस्थामा छन्। गृहमन्त्रीले सुरुङ खन्ने जस्ता प्राविधिक काममा अल्झिनुभन्दा सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने र राहत सामग्री वितरणलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्छ।’
सुत्केरी, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्न सुवेदीले सरकारसँग माग गरे। सरकारको आलोचना गर्दै उनले सरकार सामाजिक सञ्जाल र समाचारमा बढी सक्रिय देखिए पनि कार्यक्षेत्रमा उपस्थिति कमजोर रहेको टिप्पणी गरे। संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई गर्ने व्यवहारमा विभेद गर्न नहुने भन्दै उनले तीनै तहका सरकारबीच उचित समन्वय हुनुपर्नेमा जोड दिए। यो महाविपत्तिलाई दलगत स्वार्थभन्दा माथि उठेर सामना गर्नुपर्ने बताउँदै उनले राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न सरकार र सबै राजनीतिक दलहरूलाई अपिल गरे।
यता, नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै भोटेकोशी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारको ध्यानाकर्षण गराए। विपद्को यस घडीमा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको सन्दर्भ उल्लेख गर्दै उनले हजारौँ नागरिक अझै बेपत्ता रहेको र घाइतेहरूको संख्या ठूलो रहेको बताए। राहत वितरणमा देखिएको सुस्तताप्रति चिन्ता व्यक्त गर्दै उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी राहत र खोज कार्यलाई गति दिन आग्रह गरे।
विपद्पछिको पुनर्निर्माणका सन्दर्भमा दंगालले विपद्पछिको आवश्यकता आँकलन गरी यथार्थ तथ्यांकका आधारमा पुनर्स्थापनाको काम सुरु गर्न सुझाव दिए। अझ राम्रो र बलियो संरचना निर्माणको अवधारणालाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले विस्थापित परिवारका लागि सुरक्षित र एकीकृत बस्ती विकास गर्न तथा क्षतिग्रस्त कृषि भूमिको उकास गरी किसानलाई पुनर्स्थापित गर्न माग गरे।
नेता दंगालले यस प्राकृतिक विपद्लाई जलवायु परिवर्तनको परिणामका रूपमा चित्रण गर्दै यसमा नेपालको भूमिका न्यून रहे पनि विकसित देशहरूको कार्बन उत्सर्जनका कारण नेपालले ठूलो मूल्य चुकाउनुपरेको बताए।
दंगालले भने, ‘नदी किनारमा छरिएका शवहरूको पहिचान गरी आफन्तलाई बुझाउन र विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा थुनिएका मजदुरहरूको तत्काल उद्धार गर्न राज्यले तदारुकता देखाउनुपर्छ। विकसित मुलुकहरूले गरेको जलवायु अन्याय हामीलाई सह्य छैन, हाम्रा हिमाल पग्लिरहेका छन् र हामीले क्षति व्यहोर्नुपरिरहेको छ। यस विषयको अन्तर्राष्ट्रियकरण गर्दै दिगो विकासको अवधारणामार्फत पृथ्वी र मानव सभ्यताको रक्षाका लागि सरकारले पहल गरोस्।’
जलवायु न्यायका लागि हरित जलवायु कोषबाट क्षतिपूर्ति प्राप्त गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त आवाज उठाउनुपर्ने दंगालको भनाइ छ। उनले सबै राजनीतिक दल, संघसंस्था र नागरिक समाजलाई साथमा लिएर राष्ट्रिय एकताका साथ यो चुनौतीको सामना गर्न सरकारलाई सुझावसमेत दिए।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले मंगलबारकै बैठकमा विशेष समय लिएर बोल्दै भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा उनले समवेदना प्रकट गरे। सांसद ठाकुरले बाढीलाई एक ठूलो प्राकृतिक विपत्तिको संज्ञा दिँदै यसले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत पुर्याएको उल्लेख गरे।
बाढीका कारण कैयौँ नागरिक बेपत्ता भएको र सीमापारिसमेत शवहरू भेटिएको घटनाले सबैलाई स्तब्ध बनाएको उनको भनाइ छ। सम्बोधनका क्रममा उनले विपत्तिको यस घडीमा छिमेकी राष्ट्रहरूबाट प्राप्त सहयोगको चर्चा गर्दै संकट समाधानका लागि नेपालीहरू आफ्नै तागतमा सक्षम र तत्पर रहेको बताए। मातृभूमिमा आइपरेको यस दुःखद समयमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली र युवाहरू एकजुट भएकोमा उनले खुसी व्यक्त गरे।
सांसद ठाकुरले भने, ‘यस विपत्तिले हामीलाई आफ्नो सामर्थ्य पहिचान गराएको छ। विपत्तिमा परेका सबैका तर्फबाट र सदनका तर्फबाट म मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ उनले विपद्को समयमा सबै पक्षलाई एकजुट भएर अगाडि बढ्न आग्रहसमेत गरेका छन्।



