काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या समाधान र पार्टीलाई एकढिक्का बनाउने विषयमा मंगलबार विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्।
विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा कोइरालाले आयोजना गरेको उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा विभिन्न तहका नेताहरूको उपस्थिति थियो । छलफलका क्रममा पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा गहन कुराकानी भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
उक्त छलफलमा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्रीत्रय बद्री पाण्डे, जीवन परियार र बलबहादुर केसीका साथै सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मिनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, दिलेन्द्र बडु, डा. गोविन्दराज पोख्रेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भुपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ, हरि अधिकारी, विश्व अर्याल र हुर्मत न्यौपाने सहभागी थिए।

त्यसैगरी, संघीय सांसदहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेतीको सहभागिता थियो भने राष्ट्रिय सभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्ण लगायतका नेताहरू पनि छलफलमा उपस्थित थिए।
पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद सुल्झाउन र सुदृढ एकता कायम गर्न डा. कोइरालाले आफ्नो राजनीतिक सक्रियता तीव्र पारेका हुन् । यसअघि उनले भदौ १४ गते डा. शशांक कोइराला र भदौ १५ गते निवर्तमान सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रका समस्या समाधानबारे छलफल गरिसकेका छन्।
पार्टीलाई आगामी दिनमा बलियो बनाएर लैजान आन्तरिक एकता अपरिहार्य रहेको औंल्याउँदै कोइरालाले सामूहिक छलफल र परामर्शलाई प्राथमिकता दिएको स्वकीय सचिव थपलियाले बताए।



