काठमाडौँ । बाढीले त्रिशूली र भोटेकोशी नदी करिडोरमा क्षति पुर्याएका ३५ वटा पुलहरूको लम्बाइ न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्म रहेका छन् । सडक विभागको विवरणअनुसार बगेका तथा क्षतिग्रस्त पुलहरूमध्ये अधिकांश ५० मिटरभन्दा लामा छन्।
विभागकाअनुसार १०० देखि २०० मिटरसम्मका लामा पुल ११ वटा, ५० देखि ८६ मिटर लम्बाइका मध्यम पुल ९ वटा, १० देखि ४० मिटरसम्मका साना पुल १५ वटा रहेका छन्।
क्षति पुगेका स्थानमा तत्काल यातायात सुचारु गर्न पुलको लम्बाइ (स्पान) अनुसारकै बेलीब्रिज आवश्यक हुन्छ । विभागसँग ५० मिटरसम्मका १० वटा र सेनासँग ७३ मिटरका ३ वटा मात्रै बेलीब्रिज मौज्दात छन् । ७० मिटरभन्दा लामा पुल भएका स्थानका लागि सोही साइजका बेलीब्रिज व्यवस्थापन गर्न भारत, चीन तथा दातृ निकायहरूसँग पहल भइरहेको छ।
कुन पुल कति लम्बाइका ?
सबैभन्दा लामा पुलहरूमा धादिङको घाटबेँसी (२०० मिटर) र नुवाकोटको केउरिनी–फोस्रेटार (२०० मिटर) रहेका छन् । यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत देवीघाट नजिकको पुल (१९० मिटर), खड्गभञ्ज्याङ–श्रीखली (१८० मिटर), रातमाटे (१५० मिटर), बैरेनी–स्यालटार (१५० मिटर), बुद्धसिंहघाट (१४० मिटर), मस्टार (१४० मिटर), जरेबगैँचा (१२० मिटर), फुर्के खोला (११८ मिटर), तुप्चे (१०० मिटर) र सिमचौर (१०० मिटर) लामा पुलहरू बगेका छन्। यी लामा स्पानमा तत्काल साना बेलीब्रिज राख्न सम्भव हुँदैन।
स्याफ्रुबेंसी (८६ मिटर), चिलिमे खोला (७५ मिटर), बेत्रावती पुरानो र नयाँ (७०/७० मिटर), त्रिशूली बजार पुरानो र नयाँ (६०/६० मिटर), मैलुङ चिप्लेटी (६० मिटर), तादी खोला देवीघाट पुरानो र नयाँ (५५/५५ मिटर) तथा खल्ते नयाँ पुल (५० मिटर) रहेका छन्।
घट्टे खोला (४० मिटर), बिमली खोला (४० मिटर), कोल्पु खोला पुरानो र नयाँ (४०/४० मिटर), हाकु खोला (३५ मिटर), त्रिशूली ३–ए ड्याम–२ (३० मिटर), फेनलुङ (३० मिटर), बाहुबली झरना पुल (२५ मिटर), कुलुङ (२० मिटर), ठूलो खोला (२० मिटर), त्रिशूली ३–ए ड्याम–३ (१५ मिटर) र क्रसिङ पुल (१० मिटर) रहेका छन्।




