काठमाडौँ। राष्ट्रिय सभाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ‘विशेष प्रस्ताव’सर्वसम्मतिले पारित गरेको छ।
मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले गत भदौ १० आएको बाढीमा परेर ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
प्रस्तावमा बाढी प्रभावितहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न तथा सम्पर्कविहीन रहेकाहरूको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ।
यस्तै, घाइतेहरूको निःशुल्क उपचार, वैज्ञानिक ढङ्गले शव व्यवस्थापन र बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको शीघ्र पुनर्निर्माणका लागि विशेष ध्यान दिन माग गरिएको छ।
विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारहरूबिच प्रभावकारी समन्वय हुनुपर्नेमा प्रस्तावले जोड दिएको छ। ‘स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग र सहकार्यमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न आवश्यक छ,’ अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख छ।
प्रस्तावमार्फत राष्ट्रिय सभाले भविष्यमा हुनसक्ने विपद्को जोखिम न्यूनीकरण गर्न प्रभावकारी र वैज्ञानिक उपायहरू अवलम्बन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
यसअघि अध्यक्ष दाहालले विपद्को यस कठिन घडीमा सबै राजनीतिक दल र सरोकारवाला निकायहरूलाई एकजुट भएर मानवीय सेवामा जुट्न अपिल गरेका थिए।



