काठमाडौँ। बाढी प्रभावित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालिएको छ।
तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट ल्याइएका कुल १ सय २ शवमध्ये १९ वटा शवको पहिचान भएको छ। बाँकी ८३ शवको डीएनए नमुना संकलन गरी आवश्यक विवरण तथा ट्याग लगाएपछि व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
पहिचान हुन नसकेका शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । शवको पहिचानका लागि डीएनए नमुना सुरक्षित राखिएको जनाइएको छ।
हालै आएको बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा पहिचान हुन नसकेका शवलाई पोखरा ल्याएर आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको हो।



