काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकपछि सभामुख डोल प्रसाद अर्यालले बुधबार दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभाको बैठक आह्वान गरेका हुन्। रसुवा बाढीपछि भाद्र ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दलले सदन आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएको थियो । बुधबार बस्ने बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।
विशेष प्रस्तावपछि अन्य नियमित कार्यसूची नराखी विपद् केन्द्रित मात्र छलफल हुने र दलका नेताहरूले धारणा राख्ने तय भएको उनले बताए । उनले सभामुख आफैंले विशेष प्रस्ताव ल्याउने भएकाले यसमा प्रस्तावक वा समर्थक नहुने व्यवस्था गरिएको जानकारी दिए।
परियारले केहिदिन संसद बैठक पूर्ण रूपमा महाविपत्तिमा मात्र केन्द्रित रहने उल्लेख गरे।



