काठमाडौँ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा दुई बालबालिकासहित १७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।
मंगलबार राति गरिएको आक्रमणका क्रममा किभमा सरकारी रेल कम्पनी उक्रजालिज्नित्स्याको डिपोमा समेत प्रहार भएको थियो । त्यहाँ कार्यरत रेलकर्मीमध्ये ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । किभनजिकैको बोरिस्पिल सहरमा थप चार जनाको मृत्यु भएको छ।
आक्रमणका कारण किभका तीन जिल्लामा आगलागी भएको राजधानीका मेयर भिताली क्लिच्कोले बताएका छन्। आवासीय भवन तथा सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारमा समेत क्षति पुगेको उनले बताए
रुसको रक्षा मन्त्रालयले भने किभ र आसपासका क्षेत्रमा युक्रेनका सैन्य–औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी उच्च परिशुद्धताका हतियार प्रयोग गरेर ठुलो आक्रमण गरिएको जनाएको छ।
यसअघि गत शुक्रबार किभ क्षेत्रमा रहेको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण हुँदा ३८ जनाको मृत्यु भएको थियो। उक्त आक्रमणपछि त्यहाँ राखिएका गोलाबारुद, माइन तथा ड्रोन विस्फोट हुँदा ठुलो क्षति भएको थियो।



