काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको सदस्य पदको अन्तर्वार्ता एक दिनको समयावधि मात्रै दिएर लिन लागेको भन्दै असन्तुष्टि देखिएको छ । विपद्को समयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समय अन्तरनै नराखी अन्तर्वार्ता मिति सार्वजनिक गरेको भन्दै काउन्सिल सदस्यका उम्मेदवारले असन्तुष्ट जनाएका हुन्।
सदस्य पदका उम्मेदवार डा.अमित झाले एक दिनको समय दिएर सबै प्रमाणपत्र लिएर आउन मन्त्रालयबाट फोन आएको बताए । उनले भने, ‘हिजो सोमबार बेलुकी ६ बजे फोन गरेर सबै प्रमाणपत्र लिएर आउनुहोला भन्नुभयो । म बल्ल तल्ल राहत काम सकेर नुवाकोटबाट हेटौँडा काम मा फर्केको छु ! बाटो पूरै जाम छ , मेरो लागि आउन सम्भव भएन भन्ने कुरा राखेपछि भर्चुअल गर्छु भन्नुभएको छ ।’ सरकारले नै ट्राभल नगर्न सुझाएको बेला स्वास्थ्य मन्त्रालयले नै अव्यवहारिक कार्य गरेको भन्दै प्रश्न उठेको हो।
स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूको मनोनयन तथा नियुक्तिका लागि सर्टलिस्ट (रोस्टर सूची) मा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ।
मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार नेपाल मेडिकल काउन्सिलको दफा ४ को खण्ड (ज) बमोजिम सदस्य पदका लागि २६ जना र दफा ४ को खण्ड (झ) बमोजिम सदस्य पदका लागि १५ जना उम्मेदवार छनोटमा परेका छन्। खण्ड (ज) तर्फ अमित झा, अरुण उप्रेती, कृष्ण कुमार राउत, दिपक कँडेल, सबिना श्रेष्ठ लगायतका उम्मेदवारहरू रहेका छन् भने खण्ड (झ) तर्फ अनिल कुमार यादव, कृष्ण के. सी., निशा आचार्य, सुभीत मास्के लगायतका उम्मेदवारहरू छानिएका छन्।
छनोटमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज स्वास्थ्य मन्त्रालयमा हुने छ।
यस विषयमा स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.विवेकलाल दासले नेपाल मेडिकल काउन्सिलमा पदाधिकारी नहुँदा काममा बाधा पुगेपछि अन्तर्वार्ता र प्रस्तुतिकरण लिनुपरेको बताए । उनले भने, 'भौतिक उपस्थिति हुन नसक्नेलाई भर्चुअल पनि लिने छौँ । मेडिकल काउन्सिलकै आग्रहमा अन्तर्वार्ता लिनु परेको हो।'



