Oct 30 2026 | २०८३ कार्तिक १४ गते

मस्जिदमा भएको गोलीबारीको घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग

मस्जिदमा भएको गोलीबारीको घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । मे महिनामा क्यालिफोर्नियाको सान डिएगोस्थित मस्जिदमा तीन जनाको मृत्यु हुने गरी भएको गोलीबारीको घटनामा घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग दर्ता गरिएको छ । उत्तर क्यारोलिनाको ग्रान्ड जुरीले सोमबार घटनामा सहयोग गरेको आरोपमा सारा लिन्डसे सान्टियागोविरुद्ध हत्याको तीनवटा र आपराधिक षड्यन्त्र रचेको एउटा अभियोग लगाइएको हो । सान्टियागोलाई गत साता पक्राउ गरिएको थियो।

    अधिकारीहरूका अनुसार सान्टियागोले आक्रमणको प्रत्यक्ष प्रसारण रेकर्ड गरी सार्वजनिक रूपमा फैलाउन सहयोग गरेकी थिइन् । आक्रमणअघि नै उनले घटनाको लाइभ प्रसारण गर्ने, त्यसको रेकर्डिङ सार्वजनिक गर्ने र आक्रमणकारीहरूले तयार पारेको घोषणापत्र सार्वजनिक गर्ने सहमति जनाएको अभियोजन पक्षको दाबी छ।

    images

    राज्यको कानुनअनुसार १७ वर्षीया सान्टियागोलाई वयस्कका रूपमा मुद्दा चलाउन सकिने उत्तर क्यारोलिनाका फोर्सिथ काउन्टीका जिल्ला न्यायाधिवक्ता जिम ओ’निलले बताएका छन् । दोषी ठहर भए उनलाई बिना प्यारोल आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ । संघीय कानुनअन्तर्गत मुद्दा चलेको भए उनलाई भने तीनदेखि चार वर्षसम्मको सजाय हुन सक्थ्यो।

    मे १८ मा मस्जिदमा भएको आक्रमणमा ५१ वर्षीय सुरक्षा गार्ड अमिन अब्दुल्लाह, ७८ वर्षीय हेरचाहकर्ता मन्सुर काजिहा र ५७ वर्षीय नादिर अवादको मृत्यु भएको थियो । आक्रमणका क्रममा मस्जिदसँगै रहेको विद्यालयमा करिब १४० जना बालबालिका थिए । ती तीन जनाले आक्रमणकारीलाई रोक्ने प्रयास गरेकोले थप ठूलो क्षति हुनबाट जोगिएको भन्दै उनीहरूलाई नायकका रूपमा सम्मान गरिएको थियो।

    आक्रमणमा संलग्न भनिएका कालेब भाज्केज र केन क्लार्क घटनास्थलबाट भाग्ने क्रममा आफ्नै सवारीसाधनभित्र आत्महत्या गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धानका क्रममा उनीहरूले मस्जिदपछि यहुदी मन्दिर र अश्वेत विद्यार्थी अध्ययन गर्ने एक उच्च माध्यमिक विद्यालयलाई समेत निशाना बनाउने योजना बनाएको खुलेको अधिकारीहरूको भनाइ छ।

    आक्रमणको लाइभ प्रसारण तीन जनाले हेरेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । सुरुमा अनुसन्धानकर्ताहरूलाई तीमध्ये एक जना पूर्वी समय क्षेत्रमा रहेकी महिला भएको मात्र जानकारी थियो । थप अनुसन्धानपछि ती महिला सान्टियागो भएको पहिचान गरियो । लाइभ प्रसारण हेर्ने अन्य दुई व्यक्तिको पहिचान भएको छ कि छैन र उनीहरूविरुद्ध पनि अभियोग लगाइने हो कि होइन भन्नेबारे ओ’निलले केही बताएनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार