काठमाडौँ । समय बदलिएको छ, काठमाडौंका सडकहरूले अलकत्र पचाइसकेका छन्, तर नेपाली इतिहासको पानामा भदौ १६ गते कोरिएको त्यो कालो दाग अझै मेटिएको छैन।
आजभन्दा २२ वर्षअघि, २०६१ साल भदौ १६ गतेको त्यो बिहान केवल एउटा मिति मात्र थिएन; त्यो त सम्पूर्ण नेपालीको हृदय क्षतविक्षत भएको, सिंगो देश शोक र आक्रोशको ज्वालामा बलेको एउटा विभत्स विन्दु थियो।
सुख खोज्ने आशमा दुःख रोजेका, रोजीरोटीको खोजीमा, घरको गरिबी र अभाव मेट्ने सपना बोकेर १२ जना निर्दोष नेपाली युवाहरू इराक पुगेका थिए। सेक्युरिटि गार्ड, खाना पकाउने र सरसफाइको सामान्य काम गरेर परिवारको गरिबी टार्ने अनि सुन्दर भविष्यको सपना थियो उनीहरुमा । तर, उनीहरूलाई के थाहा थियो र—सुदूर मरुभूमिको धूलोमा उनीहरूको रगत यसरी बग्नेछ?
अवैध बाटोबाट जोर्डन हुँदै इराक प्रवेश गर्नासाथ उनीहरू ‘अन्सर अल सुन्ना’ नामको आतंकवादी समूहको नियन्त्रणमा परे। जीवन र मृत्युको दोसाँधमा अल्झिएका ती नेपाली युवाहरूले आफ्नो ज्यान बचाइदिन नेपाल सरकारसँग हारगुहार गरिरहेको भिडियो जब सार्वजनिक भयो, तब सिंगो देशको धड्कन रोकिएझैँ भएको थियो।
राजधानीकै ललितपुरका साथै गाउँका बुढा आमाबाबु, काखमा साना नानीबाबु र आँखाभरि आँसु लिएर पर्खिरहेका श्रीमतीहरूको प्रार्थनाले पनि ती निर्दयीहरूको मन पगाल्न सकेन। परराष्ट्र मन्त्रालय र सरकारले कूटनीतिक प्रयासको कुरा गरिरह्यो, तर भदौ १५ गते साँझ त्यो नसोचेको र सुन्नै नसकिने खबर आयो—१२ जना नेपालीको घाँटी काटेर र गोली हानी विभत्स हत्या गरियो। पैसासँग पसिना साट्नका लागि बोकेको रुमालकै कारण एकजनाले क्रुरतापूर्वक मारिनुपरेको त्यो भिडियो सार्वजनिक भइसकेपछि थामिएन नेपालीको मन, थामिएन आक्रोश अनि भएन नियन्त्रण।
भोलिपल्ट, अर्थात् भदौ १६ गते। त्यो बिहान जब काठमाडौंका मानिसहरूले पत्रिका र टिभीमा त्यो हृदयविदारक दृश्य देखे, मुलुक स्तब्ध बन्यो । सुन्दर भविष्यको कल्पनामा विदेशीएका नवजवान युवाहरुले आफ्नै मृत्युको साक्षी बस्दै लाइनै लागेर जीवन गुमाएको दृश्य कसैलाई सैह्य भएन । आक्रोशित र भावविह्वल मानिसहरू स्वतःस्फूर्त राजधानीका सडकमा उत्रिए।
त्यो दिन काठमाडौंको आकाशमा विरोधको धुवाँ मात्र थिएन, त्यहाँ हजारौँ नेपालीको आँसु र असैह्य पीडाको चीत्कार समेत थियो। मानिसहरूको रिस र आक्रोश ती युवाहरुलाई इराक पठाउने एउटा म्यानपावरमा मात्र पोखिएन, राजधानीमा भएका सम्पूर्ण म्यानपावर कम्पनीहरूमा पोखियो । सयौं म्यानपावरका कार्यालयहरू तोडफोड भए । बेरोजगारीका कारण विदेशिने लाइनमा रहेका हजारौं राहदानीहरु जले । सञ्चारगृहमा समेत आक्रमण भए । सञ्चारकर्मी नै निशानामा परे।
दुःखको कुरा, त्यो अनियन्त्रित आक्रोशले केही समयका लागि धार्मिक सहिष्णुता र सामाजिक सद्भावमाथि पनि कालो छाया पारिदियो । मुस्लिम समुदायका पवित्र स्थानमा आक्रमण भए। त्यो दिन नेपालले केवल १२ जना युवा गुमाएको थिएन, आफ्नो चेतना र संयम पनि केही क्षणका लागि गुमाएको थियो।
तर विडम्बना ! यति ठूलो विभत्स र हृदयविदारक काण्ड भोगिसक्दा पनि, र सरकारले इराक जान कानुनी रूपमा प्रतिबन्ध लगाएको दुई दशक बितिसक्दा पनि नेपालीहरूका लागि इराक जाने चाह र बाध्यता भने अझै घटेको छैन। स्वदेशमा रोजगारीको अभाव, गरिबी र पारिवारिक बोझका कारण आज पनि हजारौँ नेपालीहरू ज्यानको बाजी लगाएर भारत, दुबई लगायतका भिजिट भिसा वा चोरबाटो हुँदै इराक पुगिरहेका छन्।
गैरआवासीय नेपाली संघका अनुसार अहिले पनि झन्डै ३० हजार नेपाली (जसमा बहुसंख्यक महिलाहरू छन्) इराक र त्यसको कुर्दिस्तान क्षेत्रमा घरेलु तथा सेवा क्षेत्रको काममा जोखिमपूर्ण जीवन बिताउन बाध्य छन्। प्रतिबन्धका कारण उनीहरू कानुनी रूपमा ‘अवैध’ बन्नुपरेको छ र इराकको मरुभूमिबाट गाउँको मायासँग पैसा साटेर बन्दीजस्तै जीवन बिताइरहेका छन्।
भदौ १६ ले हामीलाई हरेक वर्ष एउटै प्रश्न सोध्छ—हाम्रा युवाहरूले रोजीरोटीका लागि कहिलेसम्म ज्यानको बाजी लगाइरहनुपर्ने? मृत्युको भय र विगतको कालो इतिहासलाई थाहा पाएर पनि विवशताको अगाडि नेपालीहरू मरुभूमिको त्यो बाटो रोज्न बाध्य छन्। त्यो कालो दिनले छाडेर गएको घाउ आज पनि उत्तिकै ताजा छ।
भदौ १६ को उक्त कहालीलाग्दो दिनलाई म्यानपावर व्यवसायीहरुले अहिले पनि कालो दिनका रुपमा मनाइरहने गर्दछन् भने सिंगो देश ती १२ युवाहरुको सम्झनामा आज पनि मौन श्रद्धाञ्जली अर्पण गरिरहेछ।



