काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएका छन् भने हजारौँ सम्पर्कविहीन भएका छन्।
रसुवाका टिमुरे, बेत्रावती, स्याफ्रुबेँसी लगायतका बजार बालुवाको बगरमा परिणत भएका छन्। रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानीय बाढीले बस्ती नै तहसनहस बनाएको बताउँछन्।
बेत्रावतीबाट आफन्तको सहयोगमा करिब ९ घण्टा लगाएर आइतबार राति केही बाढी प्रभावित काठमाडौँ आइपुगेका छन्। बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भए पनि उद्धार र राहत समयमै प्रभावित क्षेत्रमा पुग्न नसकेको उनीहरूको भनाइ छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीकी शान्ति अधिकारीका अनुसार बाढी आएको सूचना पाएपछि स्थानीयवासी आफैँ एकअर्कालाई खबर गर्दै ज्यान जोगाउन भागेका थिए। पूर्ववडाध्यक्षले स्कुटरमा बसेर सूचना दिँदै हिँडेका कारण धेरैले ज्यान जोगाउन सकेको अधिकारी बताउँछिन्। प्रहरीले समयमै सूचना नदिएको र राहत सामग्री नुवाकोटको विदुरमा थुप्रिए पनि रसुवातर्फ पुग्न नसकेको उनको गुनासो छ।
अधिकारीले भनिन्, ‘बाढी आएको सूचना पुरानो वडाध्यक्षले स्कुटरमा भन्दै हिँड्नुभयो तर प्रहरीले केही खबर गरेनन्। खबर पाएपछि श्रीमान्-श्रीमती भागेर ज्यान जोगायौँ।’
आफ्नो दुई रोपनी जग्गा र घरको नामनिसान नरहेको उल्लेख गर्दै उनले थपिन्, ‘रसुवा र नुवाकोट दुवैतिरका घरको नामनिसान केही पनि छैन। राहत नुवाकोटमा मात्रै थुप्रिएको छ, माथि रसुवा पुग्न सकेको छैन। पीडितले पारदर्शी ढङ्गले उचित राहत पाउनुपर्छ।’
नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डङ्गोलले पनि बाढीअघि आफूहरूलाई प्रभावकारी पूर्वसूचना नदिँदा धेरैले ज्यान गुमाउनु परेको बताइन्। बुधबार बिहान साढे ९ बजेतिर बाढी आए पनि उद्धार टोली तीन दिनपछि मात्रै पुगेको उनको भनाइ छ। आर्मी क्याम्प र प्रहरी चौकी नजिकै भए पनि फसेका मानिसलाई जोगाउन सहयोग नगरेको उनले आरोप लगाइन्। बाढीमा आफ्नै बहिनी तथा परिवारका धेरै सदस्य गुमाएकी डङ्गोलले सरकारसँग कम्तीमा शवको खोजी गरिदिन आग्रह गरिन्।
उनले भनिन्, ‘साढे ९ बजे खोला आएको, ३ बजेसम्म माथि डाँडामा बसेर हेरिरह्यौँ तर सरकार पुगेन। बेलैमा उद्धार गरेको भए धेरै मानिस बाँच्ने सम्भावना थियो।’आफ्नो पीडा पोख्दै उनले थपिन्, ‘हेलिकप्टर लगेर डोरी तान्न दिएर फसेका मान्छेलाई पाखामा निकालिदिएको भए मात्रै पनि सयौँ मान्छे बाँच्ने थिए। अब सासको उद्धार गर्न नसके पनि लासको खोजी गरिदिए हुन्थ्यो।’
रसुवाकी शान्ता थापाले बाढीबाट ज्यान गुमाएकाहरूको शव अझै बगरभरि रहेको र गन्हाउन थालिसक्दा पनि सेना तथा प्रहरी नपुगेको बताइन्। सुकुम्बासी भएका नागरिकका लागि गाँस, बास र कपासको व्यवस्था गर्न तथा सुरक्षित ठाउँमा पुनःस्थापना गर्न उनले माग गरिन्।
थापाले भनिन्, ‘रसुवातिर शव बगरभरि छ, अहिलेसम्म निकालेको छैन। नजिकै आर्मी क्याम्प छ तर एउटा मान्छे आउँदैन। दुःखमा कसैले हेर्ने रहेनछ।’
रसुवा बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका आमा, बाजे र पसलमा काम गर्ने महिलासहित परिवारका चार जना बाढीमा बेपत्ता भएका छन्। पसलमा रहेको ५० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बगाएको बताउँदै उनले रसुवाका दुर्गम क्षेत्रमा ग्यास, नुन, चामल र तेलको चरम अभाव हुन थालेको जानकारी दिए।
उनले भने, ‘नुवाकोटको विदुरमा राहत पुगेको छ तर रसुवातिर छैन। काठमाडौँ आएका हामीलाई तत्काल केही चाहिँदैन, गाउँमा विचल्लीमा परेकालाई सरकारले तत्काल राहत पुर्याउनुपर्छ।’
बेत्रावतीकै रानु अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अहिले अस्तित्व नै मेटिएको बताइन्। खोलाको छेउमा बस्ती बसेकाले क्षति भएको भन्ने तर्कप्रति असन्तुष्टि जनाउँदै उनले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक ठाउँ भएको उल्लेख गरिन्।
अधिकारीले भनिन्, ‘मान्छेहरूले खोलाको छेउमा बस्ती बसाउँदा क्षति भयो पनि भन्ने गरेका छन्। त्यो ऐतिहासिक ठाउँ हो तर अहिले अस्तित्व नै छैन। सरकारले नगरेको भन्दिनँ, गरेकै छ तर हुनुपर्ने ठाउँमा पुगेको छैन।’
सरकारले सङ्कलन गरेको राहत नुवाकोटको विदुरमा मात्रै थुप्रिएको र रसुवातर्फ भने राहत तथा उद्धार पुग्न नसकेको पीडितहरूको सामूहिक गुनासो छ। काठमाडौँ आएका बाढीपीडितहरूले आफ्नो चिन्ता नगरी गाउँमा विचल्लीमा परेका नागरिकका लागि उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन सरकारसँग जोडदार माग गरेका छन्।



