Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विनाशकारी बाढीले तारकेश्वरको मन्दिर र पुल बगायो, तारुकाको बस्ती जोखिममा

विनाशकारी बाढीले तारकेश्वरको मन्दिर र पुल बगायो, तारुकाको बस्ती जोखिममा

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौंँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीका अनुसार बाढीपहिरोले गाउँपालिकाभित्र ठुलो भौतिक पूर्वाधार, कृषि योग्य जमिन र ऐतिहासिक धार्मिक सम्पदामा क्षति पुर्‍याएको छ।

    गाउँपालिकाको सीमाभित्र कुनै मानवीय क्षति वा कोही नागरिक बेपत्ता भएको विवरण छैन, तर तारकेश्वर गाउँपालिकाका एक जना नागरिक बेलकोटगढी नगरपालिकामा रहेको समयमा बाढीले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष अधिकारीले बताए।

    images

    तारुका घाटका बस्ती जोखिममा

    विपद्को पछिल्लो अवस्थाबारे जानकारी दिँदै अध्यक्ष अधिकारीले भदौ १० गतेको बाढी र १४ गते फेरि आएको बाढीले तारुका घाट र आसपासका तटीय बस्तीहरूलाई अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुर्‍याएको बताए । बाढीका कारण नदी किनारका करिब २५ देखि ३० घरपरिवार उच्च जोखिममा परेका छन्।

    १० गते आएको बाढीले तारकेश्वरमा क्षेत्रमा करिब १० वटा घर पूर्ण रूपमा बगाइसकेको छ। जोखिम बढेसँगै गाउँपालिकाले नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय युवाहरूको सहयोगमा प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उनीहरूका सामानहरू सार्ने काम युद्धस्तरमा गरिरहेको अधिकारीले जनाए।

    उनका अनुसार गाउँपालिकाको नामकरण गरिएको प्रसिद्ध र ऐतिहासिक तारकेश्वर मन्दिर बाढीले बगाएको छ भने अन्य साना मन्दिरहरूमा पनि क्षति पुगेको छ । त्यसैगरी, आवतजावतका लागि महत्त्वपूर्ण रहेका पुलहरूमा ठुलो क्षति पुगेको छ।

    बाढीले गाउँपालिका जोड्ने ३ वटा पक्की तथा झोलुङ्गे पुल, एउटा तुइन र अन्य ३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगाइदिएको छ । यसमा धादिङ जिल्ला र छिमेकी गाउँपालिकाहरूसँग जोड्ने पुलहरू समेत परेका छन्, जसले गर्दा अन्तर–जिल्ला र अन्तर–पालिका आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

    खेतहरू बने बगर

    उनका अनुसार बाढीबाट वडा नम्बर २ र ४ मा क्षति रहेको छ । जसअनुसार नदी किनारमा रहेका उर्वर र खेतीयोग्य फाँटहरू बाढीका कारण बगरमा परिणत भएका छन् । हजारौँ रोपनी खेतीयोग्य जमिन नदीले कटान गरेपछि स्थानीय कृषकहरू ठुलो आर्थिक सङ्कटमा परेको अध्यक्ष अधिकारीले बताए ।  उनका अनुसार बाढीको लेदो र बालुवाले पुरिएका जमिनहरूलाई पुनः खेतीयोग्य बनाउन निकै कठिन र खर्चिलो हुने देखिन्छ।

    यातायातको क्षेत्रमा तारकेश्वर गाउँपालिका अहिले ठुलो नाकाबन्दीको अवस्थामा छ । मुख्य सडकहरू भत्किएका र पुलहरू बगेका कारण सदरमुकाम विदुर तथा त्रिशूली अस्पतालसम्म पुग्ने बाटो पूर्ण रूपमा बन्द भएको छ।

    ‘अहिले कल्लेरीटार हुँदै जाने एकमात्र अत्यन्तै जोखिमपूर्ण र साँघुरो बाटो बाँकी छ । तारकेश्वर, मेगाङ र किस्पाङ गाउँपालिकाका बासिन्दाहरू यही साँघुरो बाटो भएर निकै कष्टका साथ आवतजावत गरिरहेका छन्,’ उनले भने।

    स्थानीय प्रशासनले यो बाटोलाई मर्मत सम्भार गरी एकतर्फी रूपमा सञ्चालन गर्ने प्रयास गरिरहेको भए पनि यो दीर्घकालीन समाधान नहुने उनको भनाइ छ।

    उनले आपतकालीन उद्धारका लागि गाउँपालिकाले आफ्नै खर्चमा दुई वटा गाडी खटाएर अलपत्र परेका यात्रु तथा स्थानीय कोहीलाई सुरक्षित गन्तव्य (गल्छी, त्रिशूली) सम्म पुर्‍याउने व्यवस्था मिलाएको छ । प्रभावित तथा विस्थापित नागरिकका लागि खाद्यान्न र अस्थायी आवासको उचित व्यवस्था पालिकाले गरेको उनको दाबी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार