काठमाडौँ । रसुवा बाढीमा बगेर संकलित शवहरुलाई तनहुँमा पनि जमिनमा पुरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार ती शव जमिनमा पुरिने भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक सीडीओ दीपक रेग्मीले बताए ।
त्रिशुली नदीको बहावअन्तर्गत तनहुँ जिल्लामा पर्ने आबुखैरेनी र देवघाट खण्डमा ३८ वटा शव भेटिएका थिए । तीमध्ये दुईवटा शवका घाँटीसम्म भेटिएको छ, टाउको फेला परेको छैन ।
फेला परेका शवमध्ये २३ वटा शव पोखरामा राखिएका छन् । दमौलीस्थित जिल्ला अस्पतालमा १५ वटा शव छन् । तिनै शवहरुको अस्थायी चिहान बनाएर जमिनमा व्यवस्थापन गर्न लागिएको हो ।
तनहुँबाट पोखरा पठाइएका शवमध्ये एउटा शव आफन्तलाई जिम्मा लगाइएको छ । अब पोखरामा तनहुँबाट संकलित २२ वटा शव बाँकी छन् ।
तनहुँको दमौलीस्थित सार्वजनिक जमिनमा शवहरुको आईसीआरसी प्रोटोकलअनुसार व्यवस्थापन गरिने सूचना अधिकारी रेग्मीले बताए ।
ती शव मृतकका आफन्तले दावी गरेमा दिन सकिने स्थिति सुनिश्चित गरिएको उनले बताए । शवले दुर्गन्ध फैलाउने भएपछि प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शवहरुलाई जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।



