काठमाडौं । गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ । गीत १० भदौमा नेपालका विभिन्न स्थानमा गएको विनाशकारी बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित सार्वजनिक गरिएको हो।
गीतले प्राकृतिक विपत्तिका कारण सिर्जना भएको पीडा, बस्ती विस्थापन र मानिसहरूले भोगेको क्षतिलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । यद्यपि, पीडाका बीच पनि आशा जगाउँदै गीतले नेपाली समाजमा आपसी एकता, सहकार्य र पुनः उत्थानको बलियो सन्देश दिएको छ।
गीतका शब्दहरूले विपत्तिको समयमा हरेस नखाई एकताबद्ध भएर अघि बढ्न र पीडितहरूलाई सहायता गर्न आह्वान गरेका छन् । गीतको भिडियोमा विनाशकारी बाढीका हृदयविदारक दृश्यहरू समावेश गरिएका छन् । यसका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय नागरिकहरूले गरेको जोखिमपूर्ण उद्धार कार्यका क्लिपहरू पनि राखिएको छ।भिडियोमा गायक चेतन राइको अभिनय छ।
जसलाई विभिन्न प्राकृतिक स्थल, मन्दिर र झोलुङ्गे पुलहरूमा अभिनय गर्दै गरेको देख्न सकिन्छ।गीतको शब्द, संगीत र स्वर चेतन राईकै रहेको छ । गीतको एरेन्ज सबिर कार्कीले गरेका हुन्।



