काठमाडौँ । सरकारले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका बासिन्दाका लागि हेलिकप्टरमार्फत खाद्यान्न, नुन, तेललगायत अत्यावश्यक सामग्री ढुवानी गरी राहत वितरण तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।
बाढीका कारण तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा स्थलमार्गबाट सहज पहुँच हुन नसकेकाले हवाईमार्गबाट राहत सामग्री पुर्याइएको नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित सरकारी संयन्त्र परिचालन गरेको छ । हवाई कम्पनीहरूको समेत सहयोग लिएर राहत तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार मात्रै विभिन्न हवाई कम्पनीका हेलिकप्टरबाट प्रभावित क्षेत्रमा २०० भन्दा बढी उडान भएका थिए ।
उहाँका अनुसार सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नुवाकोटको बट्टारबाट राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्याइएको थियो । त्यस क्रममा फर्कने क्रममा गोसाइँकुण्ड पदमार्गमा अलपत्र परेका करिब २०० तीर्थयात्रीको समेत उद्धार गरिएको थियो ।
अधिकारीले हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी र प्रभावितको उद्धार कार्य सोमबार बिहानैदेखि निरन्तर भइरहेको जानकारी दिनुभयो । सरकारको निर्देशनअनुसार सम्बन्धित सबै निकायको समन्वय र सहयोगमा उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताए ।
यसैबीच, बाढीका कारण घरपरिवार र थातथलो गुमाएका रसुवा तथा नुवाकोटका प्रभावितले काठमाडौँमा रहेका विस्थापित तथा अध्ययनका लागि राजधानीमा रहेका जिल्लावासीलाई समेत राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
रसुवा बाढीबाट विस्थापित ९० परिवार अहिले काठमाडौँको तारकेश्वर नगरपालिका–८ गैरीगाउँ–शान्तिटोलमा अस्थायी आश्रयस्थलमा बसिरहेको उत्तरगयाका बाढी प्रभावित तथा पर्यटन व्यवसायी शिव लामिछानेले जानकारी दिए ।
उहाँका अनुसार विपद्का बेला आश्रय दिइएको स्वयम्भूस्थित यलो गुम्बामा बसिरहेका बाढीपीडितले पनि सरकारी राहतको अपेक्षा गरिरहेका छन् ।



