Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए राहत कोषमा पाँच करोड संकलन

एनआरएनए राहत कोषमा पाँच करोड संकलन

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाएको छ । प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी तथा स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ । संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको हो ।

    एनआरएनए एनसीसी चीनको सहयोगमा आइतबार रसुवाको गोसाइँकुण्ड, उत्तरगया र कालिका गाउँपालिकामा अस्थायी आश्रय लिएर बसेका करिब ४ सय बालबालिकालाई ३ हजार थान कपडा र ५० थान सोलार लाइट वितरण गरिएको छ । एनआरएनए चीनका उपाध्यक्ष प्रदीप नेपालको नेतृत्वमा पुगेको टोलीले ती सामग्री वितरण गरेको हो । यसअघि नुवाकोटमा शुक्रबार र शनिबार गरी ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको संघले जनाएको छ ।

    images

    राहत सामग्रीमा ५ सय थान त्रिपाल, ५ सय थान सोलार लाइट, ५ सय परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी र औषधिलगायत सामग्री छन् । एनआरएनए राहत अभियानअन्तर्गत आइतबारसम्म ४ करोड ८२ लाख ७४ हजार ७५ रुपैयाँबराबरको सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । संकलित रकम राहत तथा मानवीय सहायता कार्यमा खर्च गरिसकेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संघले जनाएको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत संकलित सहयोगको पारदर्शी विवरण सार्वजनिक गर्ने पनि संघको भनाइ छ ।

    संघका अध्यक्ष डा.हेमराज शर्माको नेतृत्वमा पहिलो चरणमा नुवाकोटका ५ सय परिवारलाई टेन्ट, खाद्यान्न, लत्ताकपडा र औषधिलगायत राहत सामग्री वितरण गरिएको थियो । स्थानीय तहसँग समन्वय गरी राहत वितरण गरिएको संघले जनाएको छ । यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले उद्धार तथा राहतका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकको टोली पठाउने निर्णय गरेको थियो ।

    विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई समेत उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णय संघले गरेको थियो । बाढी प्रभावितको उद्धार, राहत, स्वास्थ्य सेवा, पुन:स्थापना तथा पुनर्निर्माणका लागि एनआरएनएले चरणबद्ध रूपमा सहयोग गर्ने जनाएको छ । तत्काल राहत तथा स्वास्थ्य सेवासँगै दीर्घकालीन रूपमा प्रभावित समुदायको पुन:स्थापना र पुनर्निर्माणमा सरकारलाई सहयोग गर्ने संघको योजना छ ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार