काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा आफ्नी नवविवाहिता पत्नी बेपत्ता हुनुअघि बेलायतमा रहेका प्रमोद पौडेलले उनीसँग भएको अन्तिम कुराकानी सार्वजनिक गरेका छन्।
भोटेकोशी नदीमा बाढी आउनुअघि बुधबार पौडेलले आफ्नी श्रीमती सुमित्रासँग अन्तिम पटक कुरा गरेका थिए। इस्ट ससेक्समा बस्ने ३४ वर्षीय ट्रक चालक प्रमोदले बाढीबाट गम्भीर प्रभावित सोले गाउँमा परिवारसँग बसिरहेकी २५ वर्षीया सुमित्रासँग त्यसपछि कुनै सम्पर्क हुन नसकेको बताएका छन्। हिमताल फुट्नुभन्दा केही घण्टाअघि श्रीमतीसँग फोनमा कुरा हुँदा उनले ‘तपाईँलाई कस्तो छ? म तपाईँलाई धेरै माया गर्छु’ भनेकी थिइन्।
प्रमोद आफ्नी श्रीमती, ५२ वर्षीया आमा तुल्सा, ३१ वर्षीय भाइ प्रदीप र ६४ वर्षीय काका माधवको खोजीका लागि नेपाल आइपुगेका छन्। उनले भने, ‘म उनीहरूलाई भेट्टाउनेमा धेरै आशावादी छु, ईश्वरसँग प्रार्थना पनि गरिरहेको छु।’ सो क्षेत्रका ९० प्रतिशत मानिस र घरहरू बाढीले बगाएको र गाउँमा केही पनि बाँकी नरहेको उनले बताएका छन्।
नेपालमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या करिब ८ सय पुगेको छ भने २,४०० भन्दा बढी मानिस अझै बेपत्ता छन्। चिनियाँ अधिकारीहरूका अनुसार तिब्बतमा २४६ विदेशी नागरिकसहित ५४६ जना बेपत्ता भएका छन्।
यस क्षेत्रमा दुई किशोरसहित कुल ३३ जना बेलायती नागरिकहरू बेपत्ता छन्। बेलायत सरकारले मानवीय सहायताका लागि ५० लाख पाउण्डका साथै उद्धार र खोज टोली नेपाल पठाएको छ।
बेपत्ता हुनेहरूमा लन्डनका दुई सन्तानकी आमा गीता रेड्डी पनि छिन्। उनका श्रीमानले बाढी आएदेखि श्रीमतीसँग सम्पर्क नभएको र १२ तथा १४ वर्षका छोरीहरूले आमा फर्कने आशा अझै मारिनसकेको बताए।
उनले भने, ‘हामी के गर्ने भन्नेमा निश्चित छैनौँ, बालबालिकाको विद्यालय अर्को हप्तादेखि सुरु हुँदै छ। उनीहरू आमा नेटवर्क नभएको ठाउँमा अड्किएकी छिन् र फर्कनेछन् भन्ने सोचिरहेका छन्।’
त्रिशूली नदीमा जलसतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। विदेशी विज्ञहरू बाढीले बन्द भएका सुरुङ मार्गहरू खोल्न खटिएका छन्।
अर्कोतर्फ चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार ड्रोनले हिमालय क्षेत्रमा अर्को ताल बनेको फेला पारेको छ। रेडक्रसका अनुसार यस प्राकृतिक विपद्बाट करिब ९०,००० मानिस प्रभावित भएको अनुमान छ।
उद्धारकर्ताहरूले ९७ वर्षीया वृद्धा गुणमाया बोहरालाई पहिरोबाट जीवितै उद्धार गरेका छन्। उनको वृद्धाश्रम बाढीले ध्वस्त पारेको थियो र हाल उनको अस्पतालमा उपचार भइरहेको छ।



