काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका नेता कार्यकर्तालाई लक्षित गर्दै भदौ १५ देखि १९ गतेसम्मका लागि समय थप गरेको छ । तर, इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहले भने पार्टी विवादका सम्बन्धमा सहमति नभई सदस्यता अद्यावधिक नगर्ने बताएको छ।
सदस्यता व्यवस्थापन समितिको बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, पार्टीको वृहत्तर हित, एकता र साथीहरूको अनुरोधलाई ध्यानमा राखी नवीकरण र अद्यावधिक गर्न छुट हुनुभएका क्रियाशील सदस्यहरूले २०८३ भदौ १५ गतेदेखि १९ गते सम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक र नवीकरण गर्न सकिने गरी समयावधि थप गर्ने निर्णय गरेको छ।’
इतर समूहले भने ठोस सहमति नभई उक्त प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ । प्रक्रियागत सुधार र सहमति बिना समय थप गर्नुको कुनै अर्थ नभएको समूहको भनाइ छ।
इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले क्रियाशील सदस्यताको अद्यावधिक समय थपघट मात्रै उपयुक्त विषय नभएको बताए । उनले अहिलेको मुख्य आवश्यकता पार्टी एकताका लागि हुने ठोस सहमति भएको उनले बताए।
‘सहमति नभइकन थपेको समयको कुनै अर्थ छैन,’ विश्वकर्माले भने, ‘एकतर्फी रूपमा समय थप्ने, घटाउने वा कार्यतालिका हेरफेर गर्ने विषयले कुनै अर्थ राख्दैन।’विश्वकर्माका अनुसार दुई पक्षबिच ठोस सहमति नभएसम्म इतर समूहका नेता कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने भएका छन्।
गत पुसमा तत्कालीन केन्द्रीय समितिको सहमति बिना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनाएर निर्वाचन आयोगबाट अद्यावधिक गरेपछि सुरु भएको विवादले कांग्रेसमा अहिले उग्र रूप लिएको छ।



