काठमाडौँ । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो महिना १ प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन।प्रदेश लेखा नियन्त्रकको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, साउन महिनाभर प्रदेश सरकारले जम्मा ३ करोड ७६ लाख ९५ हजार ९०४ रुपैयाँ मात्रै खर्च गर्न सकेको हो।
यो कुल बजेटको ०.१०६ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्ष प्रदेश सरकारले ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको कुल बजेट ल्याएको छ।प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाका अनुसार, पुँजीगत बजेट कार्यान्वयन कमजोर देखिएको छ । यो वर्ष पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार विनियोजन भएकोमा पहिलो महिना जम्मा ३ करोड ३४ लाख ४१ हजार ७२६ रुपैयाँ कार्यान्वयनमा आएको थापाले बताए।
तलब, भत्तातर्फको चालु बजेट ४२ लाख ५४ हजार १७८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ यो वर्ष १४ अर्ब १५ करोड १८ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ । विगतमा पहिलो महिनामा चालु आर्थिक वर्षमा कार्यान्वयनमा लैजानुपर्ने अधिकांश काम सुरु भइसक्थे।
तर यो पटक सरकार गठन ढिलाइका कारण बजेट कार्यान्वयन अझ प्रभावित बन्ने देखिएको छ । साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाहीले बिहीबार मात्रै सरकारलाई पूर्णता दिएका छन्।



