काठमाडौँ । अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ।अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बिच उद्धार तथा पहुँच स्थापना गर्ने कार्य निरन्तर अगाडि बढिरहेको छ।
हेलिकप्टरबाट आयोजनास्थलको बारम्बार हवाई निरीक्षण गरी अवस्था मूल्याङ्कन भइरहेको छ। आवश्यक उपकरण ‘एक्सकाभेटर’ समेत हेलिकप्टरमार्फत घटनास्थलमा ढुवानी गरी काम सुरु गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै प्रयास अघि बढाइएको जानकारी उर्जामन्त्री विराजभक्त श्रेष्ठको फेसबुक पोस्टमार्फत दिइएको छ।
मानवीय उद्धार पहिलो जिम्मेवारी भएकाले सबैको सुरक्षित उद्धार नभएसम्म प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिएको छ। यस संवेदनशील समयमा सम्पूर्णमा धैर्य र संयम अपनाउन तथा अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।



