काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका १४ जना नागरिकहरू सम्पर्कविहीन भएका विवरण आफन्तले प्रशासनमा टिपाएका हुन् । बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजीका लागि परिवारजनले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए।
काम, भ्रमण तथा अन्य प्रयोजनका सिलसिलामा रसुवा पुगेका आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको जानकारी सहितको विवरण आफन्तले प्रशासनलाई जानकारी गराएका छन् । तिमध्ये कास्की जिल्ला घर भएकामात्रै १० जना छन् भने अन्य ४ जना कास्कीमा बसोबास गर्दै आएका तर स्थायी घर कास्की नभएकाहरू पनि छन्।
पोखरा १७ की सविना पौडेल, पोखरा १५ का छमप्रकाश थापा, सोही वडाका मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखरा ६ का अभिषेक आचार्य, पोखरा १२ का सुमन श्रेष्ठ, सोही वडाका लिलाबहादुर थापा सम्पर्क विहीन छन् । यस्तै, पोखरा १५ की देविकुमारी गुरुङ, पोखरा १३ की विनु गुरुङ र पोखरा १४ का गोविन्दबहादुर अधिकारी सम्पर्कविहीन छन्।
यसबाहेक सिरहाको धनगढीमाई नगरपालिकाका आनन्दकुमार महतो, सिन्धुलीका प्रविन पुर्जा, काठमाडौँका राजेश शर्मा र ठेगाना खुल्न नसकेकी प्रमिला पाठक पनि हराएको भन्दै कास्की प्रशासनमा जानकारी गराइएको छ । राजेश दुई बालबालिकासहित हुनसक्ने अनुमान गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पोखराबाट सहयोग सुरु भएका छन् । पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा उद्धार र प्राथमिक उपचारका लागि नगर प्रहरी, स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहितको एम्बुलेन्स परिचालन गरेको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार टोलीको सम्पूर्ण खर्च महानगरपालिकाले नै ब्यहोर्नेछ।
महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । मादी गाउँपालिकाले १० लाख र रुपा गाउँपालिकाले एक महिनाको तलवको १० प्रतिशत सहयोग गर्ने निर्णय गरेको छ । कास्कीका प्रदेश सांसद तथा पुर्व मन्त्री विन्दुकुमार थापाले ५ लाख सहयोग गरेका छन् भने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष उम्मेद्वार अर्जुन पोखरेलले ५० हजार सहयोग पठाएका छन्। पोखराका विभिन्न संघ–संस्था, व्यवसायी र सर्वसाधारणले पनि राहत कोषमा रकम जम्मा गर्ने क्रम जारी छ।



