Oct 30 2026 | २०८३ कार्तिक १४ गते

ल्याण्डस्याट तस्बिरहरूको अध्ययन गर्दा बाढीको सम्भावित स्रोत रसुवाको चोएन–रुना क्षेत्र

ल्याण्डस्याट तस्बिरहरूको अध्ययन गर्दा बाढीको सम्भावित स्रोत रसुवाको चोएन–रुना क्षेत्र

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । तिब्बततर्फबाट भोटेकोशी र त्यसपछि त्रिशूली नदीमा अचानक आएको ठुलो बाढीले रसुवा जिल्लाको टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा गम्भीर जोखिम सिर्जना गरेको घटनाबारे गरिएको प्रारम्भिक (ल्याण्डस्याट) भूउपग्रह तस्बिर विश्लेषणले बाढीको सम्भावित घटना क्षेत्रसम्बन्धी नयाँ तथ्य उजागर गरेको छ।

    २०२६ मार्च ३ र २०२६ अगस्ट २६ मा प्राप्त उपग्रह तस्बिरहरूको तुलनात्मक विश्लेषण गर्दा बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. २ को चोएन र रुना क्षेत्रबाट असामान्य जलप्रवाह वा पानीको बहाव सक्रिय भएको देखिएको छ । भूउपग्रह तस्बिरमा मार्च ३ को अवस्थासँग तुलना गर्दा अगस्ट २६ को तस्बिरमा उक्त क्षेत्रमा पानीको सतह तथा जलप्रवाहको अवस्थामा उल्लेखनीय परिवर्तन देखिएको प्रारम्भिक विश्लेषणले संकेत गरेको छ।

    images

    Satelite Image3

    यस आधारमा चोएन र रुना क्षेत्रलाई हाल देखिएको बाढीको सम्भावित घटना क्षेत्रका रूपमा थप अध्ययन गर्नुपर्ने देखिन्छ । घटनाको प्रकृति हेर्दा उच्च हिमाली क्षेत्रमा अचानक पानीको बहाव सक्रिय हुनु र त्यसपछि त्रिशूली नदीमा छोटो समयमै ठुलो परिमाणमा पानी प्रवेश गर्नुले हिमताल विस्फोटजन्य बाढी ग्लोफको सम्भावनातर्फ पनि यसले ध्यान आकर्षित गरेको छ।

    २०२६ मार्च ३ र अगस्ट २६ का उपग्रह तस्बिरहरूको तुलनात्मक अध्ययनले घटना क्षेत्रको भू–आकृति तथा जलप्रवाहमा आएको परिवर्तन पहिचान गर्न महत्त्वपूर्ण आधार प्रदान गरेको छ । विशेषगरी चोएन र रुना क्षेत्रमा देखिएको सम्भावित जलप्रवाह परिवर्तनलाई नदी सञ्जाल तथा जलाधार विश्लेषणसँग एकीकृत गरी अध्ययन गर्न सकेमा पानीको सम्भावित स्रोतदेखि त्रिशूली नदीसम्मको प्रवाह मार्ग पहिचान गर्न सकिनेछ।

    रसुवाको उत्तरी हिमाली क्षेत्रमा पर्ने यी स्थानहरू त्रिशूली नदी प्रणालीसँग जोडिएका जलाधारका दृष्टिले संवेदनशील क्षेत्र हुन् । यस्तो क्षेत्रमा हिमतालको विकास, हिमनदी पग्लने अवस्था, आकस्मिक जलनिकास तथा भारी वर्षाका कारण उत्पन्न हुने बाढीको जोखिम उच्च हुन सक्छ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि तथा हिमनदी र हिमतालमा हुने परिवर्तनले भविष्यमा यस्ता आकस्मिक बाढीको जोखिम थप बढाउन सक्ने भएकाले नियमित निगरानी आवश्यक देखिन्छ । बाढीको प्रभाव टिमुरे तथा रसुवागढी क्षेत्रमा मात्र सीमित नरही त्रिशूली हुँदै त्रिशूली नदी प्रणालीका तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले माथिल्लो जलाधारमा हुने कुनै पनि असामान्य परिवर्तनको तत्काल पहिचान र सूचना प्रवाह महत्त्वपूर्ण हुन्छ ।

    प्रारम्भिक भूउपग्रह विश्लेषणले बागमती प्रदेश, रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. २ अन्तर्गत चोएन र रुना क्षेत्रलाई सम्भावित घटना क्षेत्रका रूपमा संकेत गरेको भएपनि यसको वैज्ञानिक पुष्टि गर्न थप प्रमाण आवश्यक पर्ने देखिन्छ।

    यस विश्लेषणको अर्को महत्त्वपूर्ण पक्ष के हो भने सन् २०२६ अगस्ट २६ को (ल्याण्डस्याट) भू–उपग्रह तस्बिरमा भोटेकोशी नदीको मुहान मानिने माथिल्लो क्षेत्र तथा वास्तविक जलस्रोत स्पष्ट रूपमा पहिचान हुन सकेको छैन । तस्बिरमा बादल, भू–आकृति, हिम तथा अन्य भौगोलिक अवस्थाका कारण नदीको मुहानबाट पानीको प्रवाह सुरु भएको बिन्दु स्पष्ट देखिन नसक्ने अवस्था छ।

    त्यसैले चोएन–रुना क्षेत्रलाई तत्कालै बाढीको निश्चित स्रोत वा ग्लोफको उत्पत्तिस्थल भनेर निष्कर्ष निकाल्नु वैज्ञानिक रूपमा उपयुक्त हुँदैन । उपलब्ध तस्बिरले सम्भावित जलप्रवाह परिवर्तन भएको क्षेत्र पहिचान गर्न सहयोग गरे पनि भोटेकोशी नदीको वास्तविक मुहानबाट घटना सुरु भएको हो वा माथिल्लो हिमाली क्षेत्रमा रहेको कुनै हिमताल, हिमनदी अथवा अन्य जलनिकास प्रणालीबाट पानी आकस्मिक रूपमा आएको हो भन्ने कुरा अझै स्पष्ट हुन बाँकी नै छ।

    यस घटनालाई हिमताल विस्फोटजन्य बाढी ग्लोफको सम्भावनासँग जोडेर अध्ययन गर्न सकिन्छ । तर हालको भूउपग्रह प्रमाणका आधारमा ग्लोफ भएको निश्चित निष्कर्ष निकाल्न भने मिल्दैन । आधिकारिक रुपमा यसका लागि हामीले सरकारी सम्यन्त्रहरुमै विश्वास गर्नुपर्ने हुन्छ।

    Rem Satellite Image

    विशेषगरी भोटेकोशी नदीको मुहान स्पष्ट रूपमा पहिचान नभएको अवस्थामा सम्भावित हिमतालको फुटाइ, हिमनदीबाट आकस्मिक पानी निकास, भारी वर्षा वा अन्य जलवैज्ञानिक प्रक्रियालाई समेत समान रूपमा विचार गर्नुपर्छ । त्यसैले २०२६ मार्च ३ र अगस्ट २६ का भू–उपग्रह तस्बिरले सम्भावित घटना क्षेत्रमा परिवर्तन देखाए पनि बाढीको वास्तविक स्रोत भने थप अनुसन्धानको विषय रहेको छ।

    आगामी दिनमा थप उपग्रह तस्बिर, उच्च रिजोलुसनको रिमोट सेन्सिङ डाटा, वर्षा तथा नदी बहावको तथ्याङ्क, स्थलाकृतिक विश्लेषण र स्थलगत प्रमाणीकरणलाई एकीकृत गरेर मात्र बाढीको उत्पत्तिको मुहान यकिन गर्न सकिन्छ। यस प्रारम्भिक विश्लेषणले एउटा महत्त्वपूर्ण सन्देश भने दिएको छ— भोटेकोशीको माथिल्लो हिमाली जलाधार तथा सम्भावित मुहान क्षेत्रमा नियमित भू–उपग्रह निगरानी र विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक छ।

    भविष्यमा यस्ता आकस्मिक बाढीबाट टिमुरे, रसुवागढी हुँदै भोटेकोशी–त्रिशूली नदी करिडोरका बस्ती तथा पूर्वाधारमा पर्ने जोखिम न्यूनीकरणका लागि सीमा–पार जलाधारको निरन्तर वैज्ञानिक निगरानी अपरिहार्य देखिन्छ । यसका साथै अन्तरदेशिय सूचना प्रणालीको विकास गर्नैपर्ने आवश्यक देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार