काठमाडौँ । तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण रसुवाका ६ वटा प्रहरी युनिटका प्रहरी कर्मचारीहरू सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको बताएको छ।
इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती र प्रहरी चौकी हाकुमा कार्यरत प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन्।
बाढीका कारण सम्पर्क विहीन भएकाहरूमध्ये ५ जना प्रहरीको उद्धार गरिएको छ । प्रहरी जवान मनिकान्दु चौधरी, रामकिशोर धोबी, जितबहादुर गुरु र सहायक हवलदार गिरप्रसाद श्रेष्ठको उद्धार गरेर त्रिशूलीस्थित मैथली ब्यारेकमा राखिएको छ । २५ वर्षीया मनिकान्दु नवलपरासीकी स्थानीय हुन् । ३२ वर्षीय जवान रामकिशोर धोबी रुपन्देहीका हुन्। २६ वर्षीय जितबहादुर धादिङका र सहायक हवलदार श्रेष्ठ अर्घाखाँचीका स्थानीय हुन्।
प्रहरी हवलदार राजन खत्रीलाई उद्धार गरेर उपचारको लागी काठमाडौँ ल्याइएको छ । दोलखाको भीमेश्वर–४ घर भएका ४१ वर्षीय खत्रीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।



