Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढीपीडितको राहतमा महालक्ष्मी नगरपालिकाको ३० लाख, जनप्रतिनिधि र कर्मचारीले एक महिनाको तलब दिने

बाढीपीडितको राहतमा महालक्ष्मी नगरपालिकाको ३० लाख, जनप्रतिनिधि र कर्मचारीले एक महिनाको तलब दिने

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    नगरपालिकाले आफ्नो विपद् कोषसमेतबाट एकमुष्ट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढी प्रभावितको उद्धार तथा घाइते र बिरामीको ओसारपसारका लागि नगर प्रहरीसहितको एम्बुलेन्ससमेत पठाइएको नगरपालिकाले जनाएको छ।

    images

    नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापत प्राप्त हुने रकम बाढी प्रभावितको सहयोगका लागि उपलब्ध गराउने भएका छन् । त्यस्तै, नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको १ हप्ता बराबरको तलब कट्टा गरी सहयोगमा समावेश गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाले बताएका छन्।

    नगरपालिकाले बाढीबाट भएको मानवीय, भौतिक, आर्थिक तथा भावनात्मक क्षतिप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    नगरभित्रका प्रभावितको खोजी र उद्धारमा सहयोग गर्न आग्रह महालक्ष्मी नगरपालिकाभित्र बसोबास गर्ने कुनै नागरिक बाढीबाट प्रभावित भएको, सम्पर्कमा नआएको वा उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी प्राप्त भए नगरपालिका तथा अन्तर्गतका वडा कार्यालय, प्रहरी चौकी र सुरक्षा निकायमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

    नगरपालिकाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काम तत्काल सञ्चालन भइरहेको उल्लेख गर्दै ती कार्यमा संयमित भएर आ–आफ्नो स्थानबाट योगदान गर्न सम्पूर्ण नगरवासीलाई आह्वानसमेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार