Oct 30 2026 | २०८३ कार्तिक १४ गते

ढुंगामा अड्किएका विवेक भन्छन्- बाढीले बगाउँदा बाँच्छु भन्ने आसै थिएन

ढुंगामा अड्किएका विवेक भन्छन्- बाढीले बगाउँदा बाँच्छु भन्ने आसै थिएन

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोसी बाढीमा बगेर घाइते भएका नुवाकोटको पिपलटारका २४ वर्षीय विवेक कुमालले बाँच्ने आसै मारिसकेको बताएका छन्। घाइते उनको यतिबेला काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    सधैझै भदौ १० को बिहान पनि विवेक नुवाकोटको बिदुर बजारमा काम गर्न निस्केका थिए। केही दिनदेखि सेफ्टी ट्यांकी बनाइरहेका उनी त्यही काम पूरा गर्न काममा लागेका थिए। ‘सेफ्टी ट्यांकीभित्रै काम गरिरहेको थिए। आयो आयो भनेर साथीहरू कराए,’ विवेकले भने, ‘बाहिर निस्किँदा त बाढीले बगाइहाल्यो।’

    images

    भोटेकोसीमा आएको बाढीले बिहान साढे ९ बजेतिर बिदुर बजारमा पुगेको थियो। त्यति बेला उनी साथीहरूसँग काम गरिरहेका थिए।सेफ्टी ट्यांकी बाहिर काम गरिरहेका उनका सहकर्मी भागे। उनी भने सेफ्टी ट्यांकीबाट बाहिर निस्किँदा भाग्न पाएनन्।

    ‘सबै भागे। म पनि बाहिर भएको भए त भागिहाल्थे,’ ट्रमा सेन्टरको शय्यामा नेपालखबरसँग घटना स्मरण गर्दै विवेकले भने, ‘एक-दुई मिनेट मात्रै ढिलो भयो। नत्र म पनि भागिसक्थे। यस्तो हुने थिएन।’

    सेफ्टी ट्यांकीबाट निस्किने वितिक्कै उनलाई भोटेकोसीको बाढीले बगायो। बाढीले बगाएपछि बाँच्ने आसै नभएको उनले सुनाए। ‘बाँच्छु भन्ने सोचेकै थिइनँ। अब मरियो भन्ने लागेको थियो,’ विवेकले भने।

    उनी बगेको देखे पनि कोही बचाउन आएनन्। सबै ज्यान बचाउने भागेको उनले बताए। ‘मलाई बचाउन आएको भए उनीहरूलाई पनि बाढीले बगाउथ्यो,’ उनले भने।

    केहीबेर बगाएपछि रुखमा ठोक्किएको उनले सुनाए। रुखमा अड्किएपछि होसमा आएजस्तो भएको उनले बताए। ‘रुखमा अड्किएपछि बल लगाएर निस्किन खोजेँ,’ विवेकले भने, ‘केहीबेरमै फेरि ठूलो बाढीले बगायो।’

    दोस्रो पटक बगाउँदा भने डर लागेको उनले सुनाए। पहिलो पटक बगाउँदा बाहिर निस्किने कोसिस गरेको भए पनि दोस्रो पटकमा केही गर्न नसकेको उनले बताए। ‘डर लागेको थियो। बाँच्छु भन्ने चान्स थिएन,’ उनले भने।

    बाढीले केहीबेर बगाएपछि उनी ढुंगामा ठोक्किए। ढुंगामा ठोक्किएपछि प्रहरी टोली आएको उनले सुनाए। ‘पुलिस आएपछि मात्रै बाँच्छु भन्ने लाग्यो। नत्र बाँच्ने चान्स थिएन,’ विवेकले भने।ढुंगामा ठोक्किँदा घाइते त भए, त्यससँगै बग्नबाट रोकिए पनि। त्यही बेला नेपाल प्रहरीको टोलीले उनलाई उद्धार गरेको हो।

    प्रहरीले ढुंगाबाट उद्धार गरेर ल्याएपछि भनेर बाँच्नु भन्ने आस लागेको उनले सुनाए। ‘पूरै लेदो र बालुवाले छोपिएको थिएँ। नाक, मुख, कानमा पनि बालुवा छिरिसकेको थियो,’ उनले भने।उनलाई तत्कालै नुवाकोट अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ ल्याइएको हो।

    उनको कम्मरमूनिको भाग चलेको छैन। जिउको दाँहिने भागमा पनि चोट लागेको छ। निको हुन्छ कि हुँदैन भन्ने चिन्तामा छन्।२४ वर्षीय विवेक घरपरिवार पाल्न दैनिक ज्यालामजदूरी गर्दै आएका थिए। घरमा आमा, दिदी र बहिनी छन्। आर्थिक रुपले विपन्न परिवारका उनलाई उपचारको चिन्ता लागेको बताउँछन्।

    भोटेकोसी बाढीले बगाउँदा जनधनको ठूलो क्षति भएको छ। बुधबार साँझ ५ बजेसम्म १४ जनाको शव भेटिएको छ।बाढीले बगाउँदा थुप्रै घाइते भएका छन्। घाइतेमध्ये ३५ जनालाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ।

    उनीहरूमध्ये ३० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, चार जनाको ट्रमा सेन्टर र एक जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेको छ। उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन गरिएका छन्। नेपाली सेना र निजी क्षेत्रका गरि १२ वटा हेलिकप्टर परिचालन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार